दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।

पूर्वराजा शाहले यो अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे ।

अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरिरहेको बताए ।

दरबार हत्याकाण्डलाई विनाशकारी, कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको दाबी गरे ।

उनले सत्यको सधै जित हुने भन्दै सम्बोधनमा राज्य व्यवस्था, राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तो छ पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसँग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ । गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ ।
हामी देखिरहेका छौं , भोगिरहेछौँ — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू–भाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्युबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरणतिर गइरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो ।
मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनहुँ विदेश तिर दगुरिरहेका छन् । उचित रोजगारी, सीप, इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन, हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ । यो दुःखको कुरा हो ।
देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ । म भन्छु —हामी हाम्रा पुर्खाको पौरख नभुलौँ, हामी, यही बसौँ, यही आफ्नो जन्भभूमिका लागि मरिमेटौँ । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैँबाट हुने हो । अरुले आएर गरिदिने हैन ।
तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ । यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो । देशलाई झन् झन् बरबादीतिर नलैजाउँ । त्यसका लागि अब सबैले सोचौ, समीक्षा गरौँ । नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ ।

आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ । हामी भूगोल र भूबनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ । हामी सबैको भलाई यसैमा छ ।
आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।
जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।
आफ्नो पुख्यौँली राजदरबारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ – म नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।
हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु । त्यसै आशयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’
हामी देशमै छौँ, आज पनि देशमै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस्, भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ ।
त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ । सबैमा फेरि एकपटक हाम्रो धन्यवाद ।
जय नेपाल
वीरगञ्ज २०८० माघ १३ गते ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button