|फाइल तस्बिर
बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालयको भौतिक सुधारपछि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले धेरै विद्यालयको भौतिक पूर्वाधारमा जोड दिइएको बताउँदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
बागलुङ नगरपालिका-८ स्थित सिगाना माध्यमिक विद्यालय लामिचौरको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले ठूला भवन र बगैँचा बन्दैमा शैक्षिक गुणस्तर वृद्धि नहुने भन्दै भौतिक पूर्वाधारपछि शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति लाग्नुपर्ने बताए ।
“विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, आवासीयसहितको विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउन प्रदेश सरकारले लगानी गरिरहेको छ, धेरै विद्यालयमा पूर्वाधार बनिसक्दा विद्यार्थी खाली हुने अवस्था आउन नदिन शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्दछ”, पाण्डेले भने, “सीमित स्रोत र साधानका बीच प्रदेश सरकारले असीमित दायित्व पूरा गर्न लागिपरेको छ, प्रदेशभित्र थलिएका योजना पहिला पूरा गरेरमात्रै नयाँ योजना ल्याउँछौँ ।”
गण्डकी प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान दिन थालेको बताउँदै मुख्यमन्त्री पाण्डेले बागलुङको सिगानाको सुन्तलाको चर्चा आफूले सुनेको भन्दै सुन्तलाको प्रवर्द्धनका लागि गण्डकी प्रदेशले लगानी गर्ने बताए ।
उनले सिगानाको दलित बस्तीको खानेपानी समस्या र निर्माणाधीन लिफ्ट आयोजनामा बजेट अभाव भएको भन्ने गुनासोलाई आगामी वर्ष समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यावसायिकरूपमा उत्पादन गर्ने किसानका लागि बजारीकरण प्रदेश सरकारले गर्ने योजना ल्याएको बताउँदै व्यावसायिक उत्पादनमा लागेर युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । पर्यटनमन्त्री थापाले पर्यटनको विकास गर्न सकेमा गण्डकी प्रदेश सरकार समृद्धतर्फ उन्मुख हुने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution