‘नदीको राजमार्ग’ लिएर आए दीपक समीप

पोखरा । साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिबार काठमाडौंमा लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरू सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामथ्र्य राख्न सक्ने बताए ।

मान्छेको जीवन आफैँमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने पनि उनले बताए ।

वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको तर जनताका कथा हराएको भन्दै उनले दुःख व्यक्त गरे । त्यसैले अब लेखिन बाँकी कथाहरू लेख्नतिर कथाकारहरू लाग्नुपर्नेमा उनको जोड थियो ।

कृतिमाथि बोल्दै समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन् ।

लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेको उनले स्पष्ट पारिन् ।

समीक्षक डा. ज्ञानु अधिकारीले भनिन्, “शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एक, एक लघुकथाले तरङ्गित बनाउँछन् ।”

अधिकारीका अनुसार कथामा मानव मनोविज्ञान नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको छ भने यसका कथामा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएका छन् ।

अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले सङ्ग्रहमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए । कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीले बताए ।

अधिकारीका अनुसार वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य यसभित्रका कथाले छर्लङ्ग पारेका छन् । कथाकारले विविध पात्रका माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् ।

मानव जीवनका सन्त्रास, जिजिविषा, अन्धविश्वास, आस्तिकता एवम् लैङ्गिक विसङ्गतिको चित्र मर्मस्पर्शी ढङ्गले कथामा उनिएको ईश्वरमणिले बताए ।

समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामर्थ्य दीपकमा रहेको पनि उनले प्रस्ट्याए । अवचेतन र चेतन मनको संवेदना उद्घाटन कुशल शैलीले गरेको उनले बताए । कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिए ।

लेखक दीपक समीपले पचासको दशकको सुरुआतदेखि तीन दशकसम्मको साहित्यलेखनका अनुभव र अनुभूति प्रस्तुत गरे ।

साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुककले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे ।

सभापतित्व गरिरहेका साहित्यकार भुवनहरि सिग्देलले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने दीपकको लेखकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन् ।

६६ वटा लघुकथा समाविष्ट ‘नदीको राजमार्ग’ सङ्ग्रहको प्रकाशन पेज टर्नर प्रालि काठमाडौँले गरेको छ ।

साहित्यकार दीपक समीपको यो तेस्रो कृति हो । यसअघि उनका भूगोलभित्र नकोरिएको देश, गजलसङ्ग्रह (२०६२) र अक्षर अक्षरमा देश मुक्तकसङ्ग्रह (२०७८) प्रकाशित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button