पोखरा नाटक ‘धनीरामको गोरू’ मञ्चन हुने

पोखरा । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ गतेसम्म नाटक धनीरामको गोरू मञ्चन हुने भएको छ ।

नाटक पोखरा थिएटरमा १० दिनमा १२ शो मञ्चन हुने आयोजकले जनाएको छ ।

प्रत्येक दिन बेलुका ५ बजे नाटक मञ्चन हुने अध्यक्ष सावित्रा पाठक (सबु) ले जानकारी दिइन् ।

उनका अनुसार शनिबार १ बजे पनि नाटक मञ्चन गरिनेछ ।

धनीरामको गोरू हाम्रै समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको अध्यक्ष सबुले बताइन् ।

पोखरामा नाटक मञ्चनलाई बढ्वा दिने उद्देश्य स्वरूप आफू र आफ्नो टीम अगाडि बढेको उनले उल्लेख गरिन् ।

नाटककार केदारनाथ पौडेलले धनीरामको गोरू विशुद्ध नेपालीपन कथा भएको बताए ।

उनले भने, ‘धनीरामको गोरू आफ्नोपनको कथा हो । ग्रामीण समाज र त्यहाँको किसानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।”

नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ ।

पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत उठाउन खोजिएको छ ।

प्रविधिको प्रयोग राम्रोसँग नगर्दा के कस्ता समस्या हुन्छन् विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए ।

१ घण्टा १५ मिनेटको नाटकका लागि टिकट काट्नुपर्ने छ ।

३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेरमात्र नाटक हेर्न पाइनेछ ।

विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ ।

पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।

नाटकमा दिलप्रसाद गुरुङ प्रमुख पात्र धनीरामको भूमिकामा छन् ।

नाटकमा गुरुङसङ्गै विभु प्रसाद भुसाल, सावित्रा पाठक (सबु), ज्योती हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ ।

२०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मञ्चन गर्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button