तेइसौं आहा रारा पोखरा गोल्डकप : आज चर्चब्वाइज र नेपाल पुलिस भिड्दै

पोखरा । पोखरामा जारी तेइसौं आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । जसमा चर्च ब्वाइज युनाइटेड र विभागीय टिम नेपाल पुलिस क्लव बीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेल जितेर सेमिफाइनल प्रवेश गर्ने भएकाले दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । आहारारा गोल्डकपमा नेपाल पुलिसले ६ पटक उपाधि जितिसकेको छ ।

पुलिसले प्रिक्वाटरफाइनलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो भने चर्च व्वाइज सिधै क्वाटरफाइनल खेल्न पाएको हो ।

हिजो भएको खेलमा ६ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी प्रतियोगिताबाट बाहिरिएको छ । मनाङ सडनडेथको सिकार बनेको हो ।

जाउलाखेललाई जिताउन गोलरक्षक युनेश चौधरीले निर्णायक भूमिका खेले । चौधरीले मनाङका रणदीप पौडेलको प्रहार रोकिदिएका थिए ।

निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पाँच पेनाल्टी प्रहार पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा पुग्यो । दुवै टोलीका ९-९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल ७-६ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

निर्धारित समयमा जवालाखेलका हिसुब थपलियाले ५५औँ र मनाङका राजेश परियारले ८९औँ मिनेटमा गोल गरेका थिए ।

यो जीतसँगै जाउलाखेलले २०६८ को फाइनलमा मनाङसँगै व्यहोरेको हारको बदला पनि लिएको छ ।जाउलाखेल ०६८ को फाइनलमा मलाङसँग २-० गोलले पराजित हुँदै उपाधिबाट बिमूख भएको थियो ।

जाउलाखेलले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बलियो प्रतिद्वन्दी थ्रीस्टार क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनलबाट थ्रीस्टार र दोस्रो क्वाटरफाइनलबाट त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

थ्रीस्टारले भुटानको पारो एफसी र आर्मीले डिफेण्डिङ च्याम्पियन संकटा क्लवलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button