शहीदहरुको सपना साकार बनाउन इमान्दारिपूर्वक लागौँ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शहीदहरूले गरेको त्याग र बलिदानको परिणामस्वरूप हाम्रो देश नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख गुरुङले शहीदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

उनले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गरे ।

उनले भने, “नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौँ ।”

प्रदेश प्रमुख गुरुङले देशलाई द्रूत आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने वीर शहीदहरूको सपनालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीताका साथ निभाउन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button