पत्रकार महासंघ कास्कीका सचिव बराललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

पोखरामा रहेर करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय बराल प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष पनि हुन् । बराल प्रेस चौतारीको केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजकसमेत छन् ।

प्रेस चौतारी नेपाल कास्कीले स्थापना तथा सञ्चालन गरेको सो पुरस्कार प्रेस चौतारीको २६औं स्थापना दिवसको अवसरमा अर्पण गर्न लागिएको हो । पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ ।

२०५९ सालमा पोखरा हटलाइनबाट पत्रकारितामा प्रवेश गरेका बरालले गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक फोरके टिभीमा काम गरेका थिए । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका थिए ।

संस्थाका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्वअध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्यका साथै कार्यवाहक अध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले बराललाई पुरस्कृत गर्न सिफारिस गरेकोमा मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

सोही अवसरमा प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरुङ र हुमहादुर गुरुङलाई अर्पण गरिने भएको छ । लामो समय सञ्चारकर्ममा सक्रिय मीना गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन् ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय हुम कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । उनी तमुधिँ नेपालका वर्तमान अध्यक्ष पनि हुन् ।

सम्मान अर्पण कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । कार्यसमिति बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति, मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ ।

यसैगरी कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button