
पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखा मातहतको अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
रुपन्देही घर भएका ३३ वर्षका राना गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भइ धारापानी प्रहरी पोष्टमा कार्यरत थिए । उनी दुई सातादेखि बिदामा थिए । उनी २०६७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनी सवार मोटरसाइकल बेलुकी करिब ११ बजे चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खस्दा गम्भीर घाइते भएका थिए ।
रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
सोही मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन् । अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय गोरखाले सहायक हवल्दार रानाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले सामाजिक सञ्जालमार्फत रानाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।





