राइजिङ स्टार लायन्सद्वारा शैक्षिक र खेलकुद सामाग्री सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारले कास्कीको मादी गाउँपालिका वडा नं. ५ स्थित विद्याज्योति आधारभूत विद्यालयमा शैक्षिक र खेलकुद सामाग्री प्रदान गरेको छ ।

सहयोग सामाग्रीमा पिङ सेट, चाकाचुली, भलिवल पोल सेट, कार्पेट, वेडसिट, जुत्ता राख्ने र्याक, पानी फिल्टर, वाथरुम चप्पल, विजुलीका बल्व र विद्यार्थीका लागि विभिन्न खेल सामाग्री रहेको क्लवका अध्यक्ष केशव ढकालले जानकारी दिए । सबै सामाग्रीको मूल्य एक लाख १० हजार रुपैयाँ बराबरको रहेको अध्यक्ष ढकालले बताए ।

उक्त सामाग्री लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट गभर्नर भीमलाल पौडेलको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम गुरुङ र प्रधानाध्यापक महेन्द्र पौडेललाई हस्तान्तरण गरिएको छ ।

क्लबका पूर्वअध्यक्ष एवं रिजन ११ का रिजन चियर पर्सन चोक बहादुर गुरुङका अनुसार क्लबले सो विद्याललाई अपनत्व लिई सात वर्षदेखि विभिन्न सहयोग गर्दै आइरहेको छ ।

सो अवसरमा गभर्नर पौडेलले लायन्सले शैक्षिक र स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

नागरिकका प्रत्येक दुःख, सुखमा लायन्स जोडिएको भन्दै उनले लायन्सका सबै गतिविधि सामाजिक र मानवीय सेवासँगै जोडिएको स्पष्ट पारे ।

क्लवका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र पौडेलले स्वागत र क्लबका सचिव तोलप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

निवर्तमान वडाध्यक्षद्वारा अक्षयकोष स्थापना

विद्यालयमा समाजसेवी एवं मादी गाउँपालिका वडा नं. ५ का निवर्तमान वडाध्यक्ष रतन बहादुर गुरुङले अक्षयकोष स्थापना गरेका छन् ।

उनले आफ्नी धर्मपत्नी स्व. तीलकुमारीको सम्झनामा १ लाख १ हजार १ सय रुपैयाँको तीलकुमारी अक्षयकोष स्थापना गरेका हुन् ।

आफूले दुई वर्षमा प्राप्त गरेको ज्येष्ठ नगारिक भत्तामा थप गरेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताए ।

उनले सो रकम डिष्ट्रिक्ट गभर्नर पौडेलको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

शैक्षिक गुणस्तरमा वृद्धि गर्न र विद्यालय गाउँपालिकाकै नमूना बनाउने उद्देश्य राखेर आफूले अक्षयकोष स्थापना गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button