पोखरास्थित ग्लोवल कलिजियटको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

  • पोखरा न्यूज
  • २०८० माघ २१
पोखरास्थित ग्लोवल कलिजियटको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखराको रानीपौवास्थित ग्लोवल कलिजियट स्कूलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सो अवसरमा मानवसेवा आश्रमलाई एक लाख रुपैयाँ सहयोग, शिक्षाविद् पवित्रमणि पौड्याललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यस्तै, शिक्षकहरु अशोक ओझा, नेपाल प्रसाद अधिकारी, नारायण प्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई  सम्मान गरिएको थियो ।

कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने शिक्षकहरु र विद्यार्थीहरुले दर्जन बढी सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए ।

वार्षिकोत्सवकै अवसरमा प्रकाशित आठौं संस्करणको ग्लोवल वाटिका स्मारिकाको विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय गान, स्वदेश गान, कविता, नृत्य लगायतबाट पाहुनाको स्वागत गरेका थिए ।

विद्याकी देवी सरस्वतीमा दीप प्रज्वलन र पुष्पार्पण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले ग्लोवल कलिजियटको २८औं वार्षिकोत्सवलाई ज्योतिषको नक्षत्रसँग तुलना गरे ।

यस्तो संयोगमा सहभागी हुन पाउनु, पवित्रमणि पौड्याल जस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो ठूलो सौभाग्य भएको उनले बताए ।

‘नक्षत्र २८ वटै हुन्छन् । पछिल्लोक्रममा अभीजितलाई मान्न छाडे । त्यसैका कारण विकृति–विसंगति मौलाउन थाले’, उनले टिप्पणी गरे ।

मानिसलाई अन्धकारबाट उज्यालोतर्फ शिक्षाले मात्रै लैजान सक्ने उनले बताए । आफ्ना जीवनका केही उदाहरण प्रस्तुत गर्दै उनले हरेस नखाई अध्ययनलाई निरन्तरता दिएमा अवश्य पनि सफलताको शिखर चुम्म सकिने स्पष्ट पारे ।

विद्यालयका प्राचार्य बाबुराम पन्तले सामुदायिक विद्यालय सुधार नभएसम्म सामाजिक न्याय नहुने बताए । सामुदायिक विद्यालयको शैक्षिकसँगै सबै प्रकारको विकासमा सघाउन आफूहरु प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । उनले आफूहरु आलोचनाको बाटोबाट नभई जिम्मेवारीको बाटोबाट अघि बढ्न चाहेको बताए ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले अन्योलता सृजना भएको भन्दै यस सम्बन्धमा आफूहरुले सुझाव दिएको बताए । पन्तले यस सम्बन्धमा पोखरा महानगपालिकाका प्रमुख र शिक्षा महाशाखा प्रमुख समक्ष आफ्ना विचार र सुधार गर्न सकिने विषयमा सुझाव दिएको बताए ।

शिक्षाविद् पवित्रमणि पौड्याले मानवीय मूल्य र मान्यता समाप्त हुँदै जान थालेको भन्दै चिन्ता प्रकट गरे ।

हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले मुलुकको कूल बजेटको ११ प्रतिशत शिक्षामा लगानी भएपनि बालुवामा पानी जस्तो भएको भन्दै शैक्षिक क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिकाको कदर हुनुपर्नेमा जोड दिए ।

मानव सेवा आश्रमका भवन निर्माण संयोजक विष्णु बरालले अहिले नैतिकवान मानिसको खडेरी रहेको बताए ।

विद्यालयका अभिभावक तथा बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले सचेतनात्मक मन्तव्य राखेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष पद्यराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत, शिक्षकहरु नेपाल प्रसाद अधिकारी, वसन्ती बस्नेत र विद्यार्थीहरुले कार्यक्रम सञ्चालक गरेका थिए ।

कार्यक्रमका केही झलकहरु (तस्बिरमा)

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस