विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन आवश्यक : आचार्य

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित शिशुकल्याण माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सव एवं ४७औं अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं. ३३ वडाध्यक्ष रामचन्द्र अधिकारीले शिक्षा क्षेत्रमा सरकारको राम्रै लगानी रहेको बताउँदै त्यसको प्रतिफल आउने गरी गुणस्तरीयता अभिबृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले दीगो र सार्थक विकासका लागि विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउने किसिमले शिक्षण सिकाईमा जोड दिए ।

शान्ति उदय माविका प्रधानाध्यापक टेकनारायण गिरीले अभिभावकको जागरुकतामा जोड दिँदै अभिभावकले विद्यालय तथा शिक्षकलाई समयसमयमा घच्घच्याउन सकेमा त्यसले शैक्षिक संस्था राम्रो बन्न सघाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र बरालले विद्यालय स्थापनादेखि हालसम्म आउँदाका भोगाई तथा अनुभवको स्मरण गरे ।

पूर्व प्रधानाध्यापक जगदीश सुबेदीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक सुदन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समितिका सल्लाहकार डिल्लीराम बराल, रास्वपा केन्द्रीय प्रशिक्षण विभागका सदस्य नेता माधवप्रसाद कंडेल, समाजसेवी पिताम्बर पौडेल लगायतले बोलेकका थिए ।

विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए भने वर्षका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा कक्षा १२ मा कास्कीमै ३.७१ जिपिए ल्याई राम्रो गरेका भागवत चौधरीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button