पत्रकार माधव बराल पुरस्कृत, मीना र हुम सम्मानित

  • पोखरा न्यूज
  • २०८० माघ २२
पत्रकार माधव बराल पुरस्कृत, मीना र हुम सम्मानित

पोखरा । पोखराका क्रियाशील पत्रकार माधव बराल सोमबार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका सचिवसमेत रहेका बराल प्रेस चौतारी कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ ।

उनलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतीसागर अधिकारी लगायतले पुरस्कार अर्पण गरे ।

प्रेस चौतारी कास्कीका पूर्व अध्यक्षसमेत रहेका बरालले २०५९ सालदेखि पत्रकारिता सुरु गरेका थिए । उनी हाल चौतारीको केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभागको संयोजकको भूमिकामासमेत छन् । बरालले दर्जन बढी छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेका छन् ।

प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसको आधारमा बराललाई पुरस्कार अर्पण गरिएको हो ।

सोही कार्यक्रममा प्रेस चौतारी पत्रकारिता सम्मानबाट मीना गुरुङ र हुमबहादुर गुरुङलाई अर्पण गरिएको छ ।

सम्मानित व्यक्तित्व मीना लामो समयदेखि सञ्चारक्षेत्र र राजनीतिमा क्रियाशील छन् । उनी पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य तथा गण्डकी प्रदेशको पूर्व प्रदेशसभा सदस्यसमेत हुन् ।

यस्तै, अर्का सम्मानित व्यक्तित्व हुम साढे २ दशकदेखि पत्रकारितामै सक्रिय छन् । उनी कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका उनले अहिले तमुधिं नेपालको नेतृत्व गरिरहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिए । पत्रकारितामा क्षेत्रमा धेरै चुनौती थपिएको भन्दै सबै एक भएमात्र ती चुनौतीको सामना गर्न सकिने बताए ।

गण्डकी प्रदेशको आमसञ्चार विधयेक टुंग्याउन लागिएको भन्दै उनले पत्रकारिता राज्यको चौथौ अंग भन्दापनि अनिवार्य अंग भएको बताए ।

संस्थाका कार्यबहाक अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व माधव बराल, सम्मानित व्यक्तिद्वय हुम तमु र मीना गुरुङ, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, प्रेस चौतारीका संस्थापक अध्यक्ष पूण्य पौडेल, पूर्व अध्यक्ष हरि बाँस्तोला, नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस चौतारी कास्कीका उपाध्यक्ष बालकुमारी पौडेल तारा, सचिव रञ्जन अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस