सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग फेरि जोडियो एनआरएनए

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र गैर आवासीय नेपाली संघ (एनआरएनए आइसीसी) बीच प्रायोजन सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनएसँग ३ वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।

सम्झौतासँगै म्याराथनका लागि आवश्यक सेन्सर बोर्ड खरिद गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने ३ सेन्सर बोर्डमध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।

एनआरएनएकोतर्फबाट एनआरएनए आइसीसी सदस्य ले. रि. चन्द्र गुरुङ र मञ्चकोतर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता-पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले तीन वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

सो अवसरमा एनआरएनए आइसीसी सदस्य गुरुङले लागि ३ वर्षका लागि जोडिएपनि त्यसपछि पनि निरन्तरता पाउने बताए । उनले आफूहरु पोखरा म्याराथनसँग यसअघि पनि जोडिएको तर बीचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताए ।

सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको भन्दै उनले भविष्यमा विश्वकै उत्कृष्ट म्याराथनकोरुपमा परिचित हुने विश्वास व्यक्त गरे ।

एनआरएनले पोखरा म्याराथनका विजेता नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिमसमेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागी हुने गुरुङ्गले बताए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनएसँग १४ वर्षपछि फेरि तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिकरुपमा सहयोग गर्दा केही सहज हुने उनले बताए ।

कार्यक्रममा एनआरएनए आइसीसीका सदस्य हितमान गुरुङ, एनआएन यूकेका पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, ले.रि. कुशाङ गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, सहारा यूके पुर्व अध्यक्ष कुमार गुरुङ र सल्लाहकार योगेश गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितीय उपाध्यक्ष खेम गुरुङ लगायत सहभागी थिए ।

यसैबीच म्याराथनमा गण्डकी प्रदेशतर्फ प्रथम हुने खेलाडीका लागि मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटको परिवारले प्रायोजन गर्ने भएको छ । रानाभाटले आफ्नी श्रीमती मणिपाल शिक्षण अस्पतालकी प्रमुख सकुसिंह रानाभाटको तर्फबाट प्रायोजन गर्ने घोषणा गरेका हुन् ।
अठारौँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ५ गते पोखरामा हुँदैछ । प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । यस पटक म्याराथनको रुटसमेत परिवर्तन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button