
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ माछापुच्छ्रे टोलस्थित पोखरा लनर्स एकेडेमीमा १७औं स्पोर्ट मिट सुरु भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै सशस्त्र प्रहरी बल २४ नं कालिका गण मालेपाटनका गणपति धनबहादुर बानियाँले खेलले जीवनलाई सत्मार्गमा डोर्याउने बताए ।
अनुशासनको पहिलो पाठ खेलकुदबाट सुरु हुने भन्दै बानियाले मोबाइल र टिभी देखाएर बच्चा भुलाउने वाहनामा घरैबाट अनुशासनको पाटो हराएको दुःखेसो पोखे ।
पोखरा लनर्स एकेडेमीका विद्यार्थीले देखाएको मार्च पासप्रति खुसी हुँदै विद्यार्थीको गहनालाई जोगाउन विद्यालय परिवारसँग आग्रह गरे ।
२०१७ सालदेखि नेपाली सेनाले सुरु गरेको मार्च पास विद्यालयले गराउँदा राष्ट्रिय भावनामा सकारात्मक सन्देश जाने भन्दै गणपति बानियाले सशस्त्र प्रहरीले डिज्यास्टर क्षेत्रमा गर्दै आएको काम सिकाउन आफू तयार रहेको बताए । खेलकुद प्रतियोगिताले शारीरिक र मानसिक अवस्थालाई सन्तुलित राख्ने उनले बताए ।
बानियाले टिमस्पिड, युनिट एकता, आपसी भाइचारा र अनुशासनलाई केन्द्रमा राख्ने भएकाले लगनशिल भएर नियमित अभ्यास गर्न विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, कास्की अध्यक्ष मथुरा पौडेल, सचिव पुष्प पराजुली, पोखरा लनर्स एकेडेमीका प्रिन्सिपल विधान गौतम, शिक्षक आदर्श घिमिरे र कमला गुरुङ लगायतले बोलेको विद्यालयका भाइस प्रिन्सिपल उष्णा गौतमले जानकारी दिइन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी प्रकृति सुवेदीले गरेकी थिइन् ।
स्पोर्ट मिट सुरु सभामा विद्यार्थीले मार्च पास, नृत्य तथा हास्यप्रहसन लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय सरसफाई, अभिभावकको स्वागत, विद्यार्थीको प्रस्तुतिमा सहयोग लगायतमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।





