छाब्दी बाराही मन्दिरको प्रचारका लागि म्याराथन

तनहुँ । प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरको प्रवर्द्धनका लागि यहाँका बासिन्दा जुटेका छन् । माछालाई देवीको रूपमा पुजिने यस मन्दिरको प्रचार-प्रसार गर्ने उद्देश्यले दमौलीबाट छाब्दी बाराही देवीको मन्दिरसम्म मिनी म्याराथन गरिने भएको हो ।

तनहुँको व्यास नगरपालिका-१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास-१४ स्थित छाब्दी बाराही विकास कोषको संयुक्त आयोजना तथा रजवाम युवा क्लबको सहआयोजनामा ‘आदिकवि-छाब्दी मिनी म्याराथन’ गर्न लागिएको हो ।

यसबाट मन्दिरको प्रचार-प्रसार र प्रवर्द्धन हुनाका साथै आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गरी युवालाई खेलप्रति आकर्षण गर्न सकिने त्यहाँका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

“क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम-२०८० अन्तर्गत हुने दौड प्रतियोगितालाई पर्यटन प्रवर्द्धनसँगै समेटिएको छ”, उनले भने, “म्याराथन आयोजनाका लागि प्रारम्भिक तयारी बैठक बसेका छौँ । विभिन्न क्षेत्रबाट आदिकविमा अध्ययनरत विद्यार्थीमार्फत मन्दिरको संरचना विस्तार र क्याम्पसको शैक्षिक विकास हुने विश्वास लिएका छौँ ।”

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसबाट छाब्दी बाराही मन्दिरसम्म दौड हुने बताए । व्यास-१ आदिकवि भानुभक्त क्याम्पसबाट व्यास-१४ छाब्दी बाराही मन्दिर परिसरसम्म दौड हुनेछ ।

उनले भने, “प्रतियोगिता प्रजातन्त्र दिवसका अवसरमा फागुन १ गतेदेखि खेलकुद सप्ताह सुरु हुन्छ । सोहीअन्तर्गत म्याराथन पनि गर्न लागेका हौं ।”

म्याराथनमा जिल्लाभरका क्याम्पस र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई खुला प्रतिस्पर्धा गर्ने अवसर दिइने क्याम्पस प्रमुख हड्खलेले बताए ।

सात दशमलव पाँच किलोमिटर दूरीको मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मन्दिर विकास कोषका अध्यक्ष थानबहादुर थापाले भने, “सबै पक्षबाट गरिएको प्रवर्द्धनात्मक कार्यले मन्दिरको विकास हुनाका साथै यहाँ धार्मिक, आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण पनि बनाउन सकिनछ ।”

मन्दिरमा भाकल र दर्शन गर्नाले मनोकाङ्कंक्षा पूरा हुने विश्वासका साथ माछालाई देवीको रूपमा पुजिन्छ । सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर पूर्वमा उक्त मन्दिर अवस्थित छ ।

दमौलीबाट छाब्दी मन्दिरसम्म नै सडक कालोपत्र भइसकेकाले समय समयमा बसको यात्रामा करिब २० मिनेटमा सहजै मन्दिरसम्म पुग्न सकिन्छ । विभिन्न जिल्लाबाट भक्तजन यस मन्दिरमा पूजाअर्चना र भाकल बुझाउन आउने गर्दछन् । सो मन्दिरमा विशेषगरी साउन महिनामा पूर्णरूपमा नियमित पूजाअर्चना बन्द रहन्छ ।

पृथ्वी राजमार्गबाट नजिकको दूरीमा सो मन्दिर पर्ने भएकाले पोखरा-काठमाडौँ यात्रा गर्ने यात्रुका लागि गन्तव्यस्थल बनाउन सकिन्छ । अन्य दिनमा भन्दा शनिबार भक्तजन बढी आउने गरेको मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेले जानकारी दिए ।

उक्त दिन चारदेखि पाँच जना र अन्य दिनमा दुई पुजारीले पूजापाठ र बलि चढाउने कार्य गर्दै आएका छन् । आधा रुप देवी र आधा रुप मत्स्यका रुपमा छाब्दी बाराही देवीलाई लिइन्छ ।

मन्दिर परिसरमा रहेका माछा देवीका अवतारका रुपमा पुजिने गरिएको छ । सुरुमा खरको छानोबाट सुरु भएको उक्त मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ । भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थलको व्यवस्थापन मन्दिर विकास कोषले गरेको छ ।

कुखुरा सफाइ गर्दा रु एक सय र बोकाका लागि रु पाँच सय शुल्क निर्धारण गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्दै आइएको कोषले जनाएको छ । मन्दिर परिसरमा करिब रु १६ लाखको लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्णकदको मूर्ति निर्माण गरिएको अर्का पुजारी डोलबहादुर आलेले जानकारी दिए ।

पुरानो कुण्डमा मन्दिर निर्माण गरिएको छ । त्यहाँ बिहान-बेलुकाको समयमा पुजारीले नित्य पूजा गर्दै आएका छन् । सुरुमा जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेट गरेको किंवदन्ती छ । दैनिक गोठालो जाँदा हालको छाब्दी खोला र कुण्डमा माछा मार्दै आएका आलेलाई एकदिन साँझपख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदो एक बालिकाको भेषमा देवीले बास खोज्न पुगेको बताइन्छ ।

गोठाला आलेले खानेकुरा नभएको र बिहानको बासी भात रहेकाले गाईको दूध खुवाएर बास बस्न आग्रह गरेको कथा यहाँ सुन्न पाइन्छ । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै घरमा बास बस्न आलेले आग्रह गरेको कुरा अहिले पनि त्यहाँका ज्येष्ठ नागरिकले बताउँदै आएका छन् ।

केही समयपछि म कुण्डमा बस्छु, मलाई धुपबत्ती गरेर पुज्नु दुई-दुई कदम पछाडि फर्केर बालिका विलिन भएपछि झसङ्ग हुँदै निद्राबाट ब्युँझेजस्तो भएको आलेका अहिलेका पुस्ताले बताउने गर्छन् ।

भोलिपल्ट बिहानै उक्त कुण्डमा गई हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि अचम्म हुँदै एकाएक विलीन भएपछि कुण्डमा रहेका स-साना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी पूजाअर्चना गर्न थालिएको उनीहरू सुनाउँछन् । सोही दिनदेखि छाब्दी बाराही मन्दिरमा मगर जातिका व्यक्ति पुजारी रहने गरी यहाँ पूजाअर्चना गर्दै आएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button