पोखराको भलाममा ९० खानेपानी धारा जडान, स्थानीय खुसी

धन्यवाद छ सहयोग गर्नेलाई
रित्ता गाग्री पानीले भर्नेलाई
समस्याको ठूलै थियो घेरो
आधि रातमै गर्दथ्यौँ पँधेरो

पोखरा । पानीको समस्याले जकडिएको भलाम खोरकी सञ्जिता भण्डारीले गाउँमा खानेपानी आएको खुसीमा गाएको गीत हो यो । पानीका कारण विगतमा कष्टकर जीवन बिताएको कथा र व्यथालाई भण्डारीको यो गीतले बोलेको छ ।

हालै गण्डकी प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम अन्तर्गत सम्पन्न भएको योजनाले यतिखेर पोखरा २० भलाम खोरका स्थानीयमा खुसी छाएको छ । एक गाग्री पानीका लागि घण्टौँ बिताउनु पर्ने मात्र होइन आधा रातमा पँधेरो धाउनुपर्ने अवस्था अन्त्य भएको गीतमा उल्लेख छ ।

गीतमार्फत उनले थपिन्, “यसअघि गाउँमा ५ वटा धारा थिए । पानी कम हुँदा छिमेकी बिचमा बेलाबेलामा भैmझगडा हुने गर्दथ्यो । अहिले घरघरमा धारा आएपछि छिमेकी बीचमा सुमधुर सम्बन्ध कायम भएको छ ।”

आर्थिक सहयोग गरि रित्ता गाग्रीमा पानी भर्ने र रातदिन नभनिकन योजना सम्पन्न गर्न खटिने समाज सेवीलाई धन्यवाद दिंदै सन्देशमूलक गीतमा भनिएको छ, घरघरमा धारा जडान भएपनि करेसावासीमा समेत हरियाली भइ आयअर्जनमासमेत थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा निर्माण सुरु गरिएको इक्राघारी विचारी खानेपानी आयोजनाको पानी घर-घरमा आएपछि यस क्षेत्रका उपभोक्ताको मुहारमा यतिखेर खुसी छाएको हो ।

उक्त आयोजना अन्तर्गत एक हजार सातसय मिटर लम्बाईमा जङ्गलबाट दुई इञ्चको पाईपबाट ल्याएको पानी छुट्टाछुट्टै स्थलमा निर्माण गरिएका तीनवटा टंकीमा संकलन गरिएको पानी स्थानीय ९० धारा जडान गरिएको छ ।

दुई दशक अघि नेपाल रेडक्रस सोसाईटी र लायन्स क्लवको आर्थिक सहयोगमा एक इञ्चको पाईपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको इक्राघारी विचारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रदेश सरकारको एक करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार ८ सय रुपैयाँ बराबरको जनश्रम परिचालन गरि योजना सम्पन्न भएको हो । आयोजनाबाट थप २५ वटा नयाँ धारा जडान गर्न सकिने छ ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, वडाध्यक्ष गंगा बहादुर क्षेत्री, खानेपानी डिभिजन कार्यालयका प्रमुख लगायत सहभागी थिए ।

सोही अवसरमा उपभोक्ता समितिको दोस्रो साधारणसभा एवम् प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकबहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शम्शेर बहादुर थापा, सचिवमा मिलन कुमार जिसी, कोषाध्यक्षमा माया तिमिल्सिना छन् ।

यसैगरी सदस्यमा जीवन जिसी, लक्ष्मी जिसी, अम्विका भण्डारी, सरु जिसी, नारायण सुवेदी र ऋषिमाया पौडेल छन् ।

कार्यक्रममा सामाजिक व्यक्तित्व तोरणबहादुर गुरुङ, टेबबहादुर जिसी, माया तिमिल्सिना, विश्व जिसी, रुद्रबहादुर रानाले खानेपानीकोे महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा समितिका सचिव प्रजापति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष माया जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button