
पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को रकम हिनामिला सम्बन्धमा पक्राउ परेका एक सञ्चालन समितिका सदस्यलाई पोखरा ल्याइएको छ ।
सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ निवासी ३० वर्षका प्रमोद भट्टराई बिहीबार काठमाडौं प्रहरीको सहयोगमा काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार भट्टराईलाई आज अदालतमा पेस गरिएको थियो । उनको बयान आज नसकिएपछि आइतबार पुनः बयान लिने गरि हिरासतमै राखिएको उनले जानकारी दिए ।
पोखराको नालाकोमुखमा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख भन्दा बढी रकम हिनामिना भएको दावी गरिएको छ ।
यस प्रकरणमा जोडिएका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा गएका छन् भने जीबी राईसहित १४ जना अझै फरार छन् ।





