सांसद थापाको तलवभत्ता यस पटक पनि सामाजिक सेवामा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले छ वर्षदेखि निरन्तर प्रदेशसभा सचिवालयबाट प्राप्त तलबभत्ता सामाजिक तथा विकास निर्माणका काममा खर्च गरेका छन् ।

प्रदेश सभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नं २ बाट दोस्रो पटक निर्वाचित थापा निरन्तर आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्ने एक्लो सदस्य हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य थापाले पछिल्लो एक वर्षमा सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

विसं २०७९ पुस २५ देखि २०८० पुससम्म गण्डकी प्रदेशसभाका विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त रु आठ लाख ९६ हजार ६० र व्यक्तिगतरुपमा रु दुई लाख १६ हजार थप गरी जम्मा रु ११ लाख १२ हजार छ सय पाँच सामाजिक क्षेत्रमा खर्च गरिएको उनले बताए । छ वर्षमा रु ७० लाखभन्दा बढी तलबभत्ता सामाजिक सेवामा खर्च गरेको उनले जानकारी दिए ।

सो अवसरमा थापाले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताए । उनले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य, शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित थापा उद्योगपति हुन् ।

क्यान्सर रोगबाट पीडित पोखरा-१५ का ओमबहादुर गुरुङ, पोखरा-१६ का राधा गायक, पोखरा-२० निर्मल बास्तोला र पोखरा-८ की लक्ष्मी छत्कुली तथा मुटुरोगी मिठु सर्किनीलगायत बिरामीलाई सहयोग गरेको थापाले दाबी गरे ।

खानेपानी, बाटो निर्माण, आमासमूह, युवाक्लब, विद्यालय, समाजघर, सीपमूलक तालिम, भूकम्प प्रभावित तथा सिँचाइका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको थापाको भनाइ थियो । बाँकी चार वर्षको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्च गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतले भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button