आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० माघ २८ गते आइतबार, इस्वीसंवत फरवरी ११ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको द्धित्तीया तिथि रातिमा १२ः५३ बजेसम्म त्यसपछि तृत्तीया तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा रातिमा ९ः१२ मिनेटसम्म त्यसपछि पूर्वभाद्रपदा लाग्नेछ । विष्कुम्भादि योगमा परिध १७ घटि ३७ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा रक्ष रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २७ घटि ३९ पला अर्थात ११ घण्टा ०७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज बिहानमा ७ः४९ बजे र अस्ताउने समय साँझमा ७ः३० बजे रहेको छ । आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ, चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

वृष : आज समय शुभ छ, स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन छ । तर आज साँझपख कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आम्दानी अर्कैले खाइदिने योगसमेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ ।

मिथुन : आज पनि समय खराब रहेको छ । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

कर्कट : आज स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ आज सफल हुनेछन् । पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला ।

सिंह : आज पनि समय शुभ छ । लाभ पाइने अवसर प्रशस्तै छन् । प्राप्त मौकाको ठीक-ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समय शुभ रहेकाले सही उपयोग गर्नुहोला । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ ।

कन्या : आज समय राम्रै छ । आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने, आज समय शुभ रहनेछ । प्रतिष्ठित एवं ठूला मान्छेसँग भेटघाटको मौकासमेत मिल्ने देखिन्छ ।

तुला : आज खोजेका कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । मनमा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ, धैर्यगरी आफ्नो कार्यमा लग्नुहोला । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला ।

वृश्चिक : आज पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

धनु : आज समय अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् । आज लगानी जेमा गर्नु हुन्छ अथवा जे कामको थालनी गर्नुहुन्छ, त्यसबाट राम्रो परिणाम पाइनेछ । मिष्ठान्न भोजनको योग पनि देखिन्छ, आज पूर्वी दिशाको भ्रमण सफल रहनेछ ।

मकर : आज पनि समय ठीक छैन । स्वास्थ्य सुरक्षित छैन । आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन । खाने, पिउने वस्तुबाट तपाईँप्रति षड्यन्त्र हुनसक्ने सम्भावना बलियो छ । कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । आज आर्थिक दृष्टिकोणले घाटामा परिनेछ ।

कुम्भ : आज स्वास्थ्यमा कुनै खराबी भए सुधार हुँदै जानेछ । आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । सोचे जति काममा सक्रियता अलि कम भए पनि विस्तारै उन्नति प्रगतिमा गम्भीर भई जाने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

मीन : आज आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । जे काम पनि आँफै गर्न खोज्ने बानी ठीक होइन, पुगेर न आउने होइन ज्यादा व्यर्थ परिश्रम नगर्नै राम्रो । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दुःख दिने सम्भावना बलियो छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला ।

साइतः सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४५ बजेदेखि ८ः०८ बजेसम्म उद्धेग बेला
बिहान ८ः०८ बजेदेखि ९ः३२ बजेसम्म चर बेला
बिहान ९ः३२ बजेदेखि १०ः५५ बजेसम्म लाभ बेला
बिहान १०ः५५ बजेदेखि १२ः१८ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः१८ बजेदेखि १ः४१ बजेसम्म काल बेला
दिनमा १ः४१ बजेदेखि ३ः०४ बजेसम्म शुभ बेला
दिनमा ३ः०४ बजेदेखि ४ः२७ बजेसम्म रोग बेला
दिनमा ४ः२७ बजेदेखि ५ः५० बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५० बजेदेखि ७ः२७ बजेसम्म चर बेला
साँझ ७ः२७ बजेदेखि ९ः०३ बजेसम्म लाभ बेला
राति ९ः०३ बजेदेखि १०ः४० बजेसम्म अमृत बेला
राति १०ः४० बजेदेखि १२ः१७ बजेसम्म काल बेला
राति १२ः१७ बजेदेखि १ः५४ बजेसम्म शुभ बेला
राति १ः५४ बजेदेखि ३ः३१ बजेसम्म रोग बेला
रातिमा ३ः३१ बजेदेखि ५ः०८ बजेसम्म उद्धेग बेला
बिहानमा ५०८ बजेदेखि ६ः४५ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि साँझमा ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button