पाेखराको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण

कास्की । गण्डकी प्रज्ञा-प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा पाेखराको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ ।

गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको बताए ।
ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उनले बताए ।
नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै उनले नयाँ पिँढीले यसको संरक्षण प्रवर्द्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याए ।

प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आकर्षण गरेको बताए । प्रशिक्षणका लागि एक महिनाको समयावधि कम भएको भन्दै उनले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासीन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गरे ।

हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारङ्गी बाजाको महत्वलाई उजागर गरेको बताए ।
प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button