शानदार जीतसँगै नेपालको क्लिन स्वीप, क्यानडा ९ विकेटले पराजित

काठमाडौँ । क्यानडा विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल ९ विकेटले विजयी भएको छ । नेपालले २ सय ३३ रनको चुनौती ४४.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि अनिल साह र भिम शार्कीले दोस्रो विकेटका लागि १ सय ८९ रनको अविजित कीर्तिमानी साझेदारी गर्ने क्रममा व्यक्तिगत शतक पूरा गरे ।

दुवैको यो एक दिवसीय अन्तर्राष्ट्रियको पहिलो शतक हो ।

अनिलले १ सय २४ बलमा १ सय १२ तथा भिमले १२९ बलमा १ सय १ रन बनाए । ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाएर आउट भएका थिए ।

सोमबार कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाउन सक्यो ।

क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए । कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए ।

नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए ।

यो खेल जितेसँगै नेपालले तीन खेलको श्रृंखलामा ह्वाइटवास (३-० को जित) गरेको छ । नेपालले पहिलो खेल ७ रनले तथा दोस्रो खेल ३ विकेटले जितेको थियो ।

नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो ।

नेपालको प्रशिक्षण मोन्टि देसाईले तथा क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग-२ को तयारी स्वरुप लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button