
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा बसपार्कका यात्रुलाई अनावश्यक दुःख दिएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति करिब ९ बजे पोखरा बसपार्कमा बस चढ्न आउने यात्रुलाई जवरजस्ती झोला तानी दुःख हैरानी दिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बैदाम तथा अस्थायी प्रहरी पोस्ट पृथ्वीचोक कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका वडा नं. ९ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ बसपार्क बस्ने वर्ष २६ का सागर क्षेत्री, बागलुङ तित्याङ गाउँपालिका वडा नं. ९ घर भई हाल पोखरा-३२ बस्ने बर्ष २४ का राजन खत्री, पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा-१४ खाल्टेमसिना बस्ने बर्ष १९ का सुनिल मल्ल र पोखरा-१५ बस्ने बर्ष १९ का अमृत सुनार छन् ।
उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भरहेको प्रहरीले जनाएको छ ।





