मित्रमिलन सहकारी प्रकरण : भण्डारी पनि धरौटीमा छुटे

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक हिनामिना सम्बन्धी प्रकरणमा जोडिएर फरार भएका हरेराम भण्डारी आफै अदालतको सम्पर्कमा आएका छन् ।

उनलाई जिल्ला अदालत कास्कीले ७ लाख धरौटी रकम लिएर छाडिदिएको छ । अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षत्रीको इजलासले भण्डारीलाई ७ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।

अदालतले यसअघि लेखा समिति संयोजक सूर्यबहादुर अधिकारीलाई ७ लाख, विष्णुप्रसाद भण्डारीलाई ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख धरौटीमा रिहा गरेको थियो ।

सहकारीमा जोडिएका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना गरिएको भन्दै ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हालसम्म १० जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४ जना धरौटीमा छुटेका छन् भने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल कारागारमा छन् । अझै २३ जना फरार छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button