सामुदायिक वन उपभोक्ता महासंघ पोखरा-३३ मा आचार्य

  • पोखरा न्यूज
  • २०८० फागुन २
सामुदायिक वन उपभोक्ता महासंघ पोखरा-३३ मा आचार्य

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा महानगरपालिका वडा नं. ३३ को अध्यक्षमा विजय आचार्य चयन भएका छन् । वन समूहको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्ष गंगाबहादुर पुन, सचिव कर्णकुमारी महत, कोषाध्यक्षमा पवित्रा सुनार छन् ।

सदस्यहरुमा यज्ञप्रसाद लामिछाने, निशा थापा र सम्बरबहादुर पौडेल रहेका छन् ।

भेला उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले विकास निर्माणमा वन ऐन तथा नियमावलीहरु बाधक बन्न नहुने बताए ।

उनले सामुदायिक वनको बीचमा रहेको वस्तीका जनतालाई बाटो निर्माण गर्न स्थानीय सरकारले बजेटको व्यवस्था गरेको बताए ।

प्राकृतिक स्रोतलाई विकास निर्माणसंगै स्थानीय जनताको जीविकोपार्जनको आधार बनाउनु पर्ने उनले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन क्षेत्रमा काठ मात्र नभई अन्य आयआर्जनका सम्भावना खोज्नुपर्ने बताए ।

स्वदेशी काठ जंगलमा कुहिएर खेर जाने र विदेशी काठ आयात गर्ने परिपाटीे अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वन पैदावार उपयोग गर्दा प्रक्रिया मिलाउन आग्रह गरे ।

महासंघका जिल्ला अध्यक्ष विश्वनाथ लामिछानेले कास्कीमा ५ सय ९ वटा सामुदायिक वन समूह रहेको जानकारी दिए । उनले आर्थिक पारदर्शिता र सुशासन पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रमका सहभागीले जंगली जनावरले दुःख दिएको, वन क्षेत्रमा बाटो खन्दा उपभोक्ता कार्वाहीमा पर्ने, वन पैदावार उपयोगमा झन्झटिलो व्यवस्थाका कारण दुःखका साथ हुर्काएको जंगल अहिले प्रयोगविहीन बन्दै गएको गुनासो गरेका थिए ।

वन महासंघका उपाध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता सापकोटाले गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस