पोखरामा फागुन ५ गते यातायात सञ्चालन रोकिने

  • पोखरा न्यूज
  • २०८० फागुन २
पोखरामा फागुन ५ गते यातायात सञ्चालन रोकिने

|तस्बिर : राधिका कंडेल

पोखरा । यहि फागुन ५ गते बिहान १० बजेसम्म पोखराका विभिन्न स्थानमा यातायात सेवा रोकिने हुने भएको छ । म्याराथन सञ्चालन हुने रुटमा यातायात रोकिने भएको हो । यसका लागि भूतपूर्व खेलाडी मञ्चले सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा सहभागी यातायातसँग सम्बन्धित सरोकारवालाले म्याराथन चल्दै गर्दा यातायात सञ्चालन नगर्ने प्रतिवद्धता जनाए ।

उनीहरुले यातायात सेवा अवरुद्ध हुँदा नागरिक र आफूहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रालिका अध्यक्ष योगेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए । उनले अघिल्ला संस्करणमा भएका कमीकमजोरीलाई आत्मसात गर्दै थप सुधारिएर जाने समेत सुनाए ।

‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन । बिदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’

उनले संस्थाकोतर्फबाट पोखरा म्याराथनलाई २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

पोखरा यातायातका निर्देशक देवी कुइँकेलले यसका लागि ट्याक्सी व्यवसायीसँगसमेत सहकार्य गर्ने बताए ।
रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने उनले बताए । उनले बिहानको समय र बिदाको दिन पनि भएकाले आफूहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउने स्पष्ट पारे ।

पोखरेली ट्याक्सी व्यवसायीका अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउने बताए । उनले म्याराथनको समयमा सवारी नचलाउने प्रतिवद्धता जनाए ।

व्यवसायमा असर पर्ने भएपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे । उनले बिहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेमा धावकलाई असरै नपर्ने गरी चलाउने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफूहरुलाई त्यति चुनौती नहुने बताए ।

उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयंसेवकसहित ट्राफिक प्रहरी रहने बताए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा आभार व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो ।

म्याराथनको रुट

यस पटक म्याराथनको रुट परिवर्तन गरिएको छ । अघिल्ला वर्षहरुमा पोखरा रंगशालाबाट सुरु भएर पृथ्वीचोक निस्केर पोखराका विभिन्न स्थान हुँदै पुनः रंगशालामा पुगेर समापन कार्यक्रम हुने गरको थियो ।

यसपालि भने रंगशालाबाट निस्केर अमरसिंह, कदममार्ग, विपीमार्ग, हुँदै सहरका विभिन्न ठाउँ हुँदै लेकसाइडको क्याम्पिङ चोकमा समापन गरिने भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस