‘जनताको संघर्ष र बलिदानले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना’

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको लामो संघर्ष र बलिदानले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको शुभकामना जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउने स्पष्ट पारे ।

शुभकामनामा उनले भनेका छन्, “संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक छ ।” नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाई ध्यान दिन जरुरी रहेकाे उनले बताए ।

प्रदेश प्रमुख गुरुङले संघीयतासँगै प्रदेशको स्थापना पश्चात् धेरै उदाहरणीय कार्य भएतापनि त्यो पूर्ण हुन नसकेको स्पष्ट पारे । उनले थपे, ‘जनताको जुन चाहाना र लक्ष्य अनुसार प्रदेशको स्थापना भयो त्यो लक्ष्य हांसिल गर्न हामीले धेरै कार्यहरु गर्न बाँकी छ । जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न अझै गम्भीर भएर लाग्न जरुरी छ । प्रमुख प्रतिपक्षी दल र अन्य दलको भूमिकासमेत महत्वपूर्ण हुन्छ ।’

प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल, अन्य राजनीतिक दलहरु र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँडनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।

उनले प्रदेशवासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले आन्दोलनका क्रममा घाइते र वेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button