पोखरामा कांग्रेसको प्रशिक्षक प्रशिक्षण

  • पोखरा न्यूज
  • २०८० फागुन ४
पोखरामा कांग्रेसको प्रशिक्षक प्रशिक्षण

पोखरा । नेपाली कांग्रेस गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण पोखरामा जारी छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा प्रशिक्षण भएको हो ।

प्रशिक्षण कार्यक्रम बिहीबार उद्घाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसले देशको आमूल परिवर्तनमा विशिष्ट योगदान गरेपनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताए ।

राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको भएपनि स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताए । अन्य दलले पिठो विकाइरहे पनि कांग्रेसले चामलसमेत विकाउन नसकेको मुख्यमन्त्रीले टिप्पणी गरे ।

नेपाल र नेपाली समाजमा कांग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।
प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्शका रुपमा लिनुपर्नेमा जोड दिए ।

मूल आदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कांग्रेस कमजोर बन्ने गरेको उनले बताए । कांग्रेसलाई जनताले अनुभूति गर्ने किसिमको पार्टी बनाउन आवश्यक रहेको भन्दै सभापति शर्माले पार्टीको गण्डकी प्रदेश समितिले संकल्पपत्र तयार गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भूवनप्रसाद श्रेष्ठ लगायतले कांग्रेसलाई आम जनतामाँझ पुर्‍याउन प्रशिक्षक प्रशिक्षण महत्वपूर्ण बन्ने दावी गरे ।

प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेश अन्तर्गतकाका पार्टीका उपसभापतिसहित ३६ र ५२ जना प्रशिक्षक प्रशिक्षार्थीहरू सहभागी रहेको गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस