पोखरा । साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल साहित्य पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरूको लोकार्पण गरिएको हो ।
उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरूको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातिका कथा’, ‘झ्याउँझ्याउँ झ्याउँकिरी’ कविता संग्रह लोकार्पण भएको छ ।
सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मानुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे ।
लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो । बाल्यकालमा सुनेका कथा, कविता, गीतबाट आफू आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुचि हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ ।
‘आफैंलाई बालक उमेरदेखि नै बाल साहित्यमा अभिरुचि हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने ।
उनले प्रत्येक दिन जसो राति सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । ‘आफूले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरू जोडेर तत्काल कथाहरू सिर्जना गरेर नातिलाई सुनाउथेँ । नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो । पछि यी कथाहरू मैले कति पटक दोहोर्याएर नातिलाई सुनाए कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचेँ भने यी कथाहरूलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरूका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो । ती कथाहरूमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ ।’
उनले धेरैजसो साहित्यकारले बाल साहित्यलाई अपहेलना गरेको सुनाए । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ ।
बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुचिअनुसारको विषयवस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तकभन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् ।
साहित्यकार ध्रुव घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् । ‘अहिलकोे जमाना मास मिडियाको हो । मास मिडियामा विभिन्न किसिमका खबरहरू पुग्ने क्रममा बाल साहित्यको खबर पुर्याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरू प्रकाशन गर्न सक्छौं अथवा एफएमहरू । यत्तिका एफएमहरू छन् केहीले मात्रै बालबालिकाको कार्यक्रमहरू सञ्चालन गरेका छन् । टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन् ।’
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ । यस अगाडि सरुभक्तले बालसाहित्यका पुस्तक बजारमा ल्याएका थिए ।
परिचय प्रकाशनले यसलगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरूलाई प्राथमिकता दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution