पोखरा-ढाका सिधा उडान सम्भव

पोखरा । नेपालस्थित बंगलादेशी राजदूतावासका प्रथम सचिव मोहम्मद हुमायन कविरले हवाइ रुटमा सहजीकरण भए पोखरा ढाका सिधा उडान सम्भव भएको बताएका छन् ।

‘अहिले पनि हाम्रो (बंगलादेशी विमान) काठमाडौं-ढाका दुईवटा उडान भइरहेको छ । एउटा उडान यहाँबाट नहुने भन्ने छैन,’ उनले भने, ‘तर वातावरण सहज हुनुपर्यो ।’

पोखरा उद्योग वाणिज्य संघमा आयोजित अन्तरक्रियामा प्रथम सचिव कविरले बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र आगामी दिनमा अझ बढ्ने बताए ।

उनले नेपाल र बंगालदेशबीचको पूरानो सम्बन्धको चर्चा गर्दै व्यापार तथा अन्य द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको बताए ।

नेपालको विद्युत उत्पादनसहितका क्षेत्रमा बंगलादेशले लगानी गरेको बताउँदै उनले विदेशी लगानीको लागि सजिलो वातावरण हुनुपर्नेमा जोड दिए ।

‘बंगलादेशमा विदेशी लगानी प्रोत्साहित गर्न विशेष सहुलियत दिइएको छ र हाम्रोमा लगानी बढेको छ,’ उनले थपे ।

पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै उद्यमशीलता वृद्धिमा सघाउने उनको प्रतिवद्धता थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले युरोप हुँदै नेपाल आउने स्थलमार्ग (हिप्पी ट्रेल) ले नेपाल र बंगलादेशको पर्यटन उद्योगलाई जोडेको बताए । उनले पछिल्लो समय भएको बंगलादेशीको नेपाल भ्रमण सकारात्मक पक्ष भएको बताए ।

अध्यक्ष प्रजापतिले नेपालबाट निर्यात हुने चिया, अदुवा, अलैंचीजस्ता वस्तुको आयात बढाउन थप सुविधा र सहजीकरणको माग गरे ।

‘नेपालमा उत्पादित जडिबुटी अर्को निर्यातयोग्य वस्तु हो भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘नेपाल र बंगालादेशबीच भएको विद्युत व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन होस् भन्ने हामी चाहन्छौं ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनका लागि बंगलादेशमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न आफूहरुले तयारी थालेको बताए । पोखरा-ढाका सिधा हवाइ उडानको व्यवस्था गर्नका लागि पनि उनले आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको सञ्चालन तथा कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघका कार्यसमिति सदस्य देवन्सन प्रजु, अर्का कार्यसमिति सदस्य एवं युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीलगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button