पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ खोरियाघाटस्थितमा माझी समुदायमा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण कार्यक्रम भएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यका साथ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय चापाकोटको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अस्पतालसम्म पहुँच नपुगेका ग्रामिण बस्तिका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य परामर्शसमेत प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
शिविर चापाकोट नगरपालिका वडा नं. ८ खोरियाघाटस्थित राधाकृष्ण मन्दिर परिसरमा भएको थियो । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका विशेषज्ञ चिकित्सकद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग र हार्डजोर्नीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष कमला खनालले मन्दिर परिसरमा बृक्षरोपण गर्दै शिविर उद्घाटन गरेकी थिइने भने विपन्न परिवारलाई कम्बल वितरणसमेत गरेकी थिइन् ।
चापाकोट नगरपालिकाकी उपमेयर इसा रानाले नेपाल प्रहरी श्रीमती संघ पोखराको रोपकारी कार्यप्रति खुसी प्रकट गर्नुको साथै आगामी दिनमासमेत यस्ता कार्यक्रमहरुको अपेक्षा गरिन् ।
संघकी अध्यक्ष खनालले कार्याक्रमबाट लाभान्वित हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केही हदसम्म सहजता प्रदान गर्न विश्वास व्यक्त गरिन् । उनले शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघसंस्थालाई गाउँमा सहयोगका कार्यक्रमहरु ल्याउन आग्रह गरिन् ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय चापाकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाह, चापाकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजु न्यौपाने, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारी लगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution