पोखरामा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनबारे छलफल

पोखरा । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

साइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो ।

परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप-साइकल (आरयु) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने छ ।

यस्तै, ग्रीन भेन्चर जोन (जिभिजेड) स्थापना गर्ने र नयाँ तथा आरयु उद्यमलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्ने छ ।

ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयु उद्यमलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संशाधनको व्यवस्थापन गर्ने छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चिततासहित परियोजनाको स्वामित्वसमेत लिनेछ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजनामार्फत युवाका लागि रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप-साइकलमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप-साइकलमार्फत हरित रोजगारी सृजना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताए । ‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्नेछ भने हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्ने छ,’ उनले भने ।

परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्ने छ । परियोजनाले रिसाइकल र अप-साइकलमार्फत नयाँ सामग्री उत्पादन गर्ने छ ।

यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button