संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनु आपत्तिजनक : नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दू राष्ट्रको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले काठमाडौँमा घोषणापत्र सार्वजनिक कार्यक्रममा भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू धर्मको पक्षमा भएपनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भइरहेको बताए ।

उनले भने, ‘हामी प्रस्ट छौँ । हामीले गणतान्त्रिक, वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्रको खोजेका हौँ । यसमा हामी स्पष्ट र दृढ छौँ । तर हामीलाई चिन्ता कहाँ छ भने यो अभियान नियोजित रूपमै निस्तेज पार्नका निम्ति राजसंस्थासँग जोड्ने प्रयास हुनेछ । राजसंस्था फरक विषय हो । धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरू त्यसभित्र रहने कुराहरू हुन् । त्यसैले हामी स्पष्ट छौँ सनातन वैदिक धर्म सापेक्ष हिन्दू राष्ट्र हो ।’

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दू राष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा भण्डारीको आपत्ति छ । महाअभियानको त्यस विषयका गम्भीर छलफल गर्ने बताउँदै संविधानमै धर्मनिरपेक्ष राष्ट्र नभई हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।

उनले भने, ‘म आफैँ संविधानसभा सदस्य हुँ । म यो कुरा बुझेर मस्यौदा समितिमा बसेको हुँ । म लगायत धेरै जना कांग्रेसका सदस्यहरूले धर्म निरपेक्षताका विपक्षमा आवाज उठाएका हौँ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पछि संविधान संशोधन गरेर भए पनि यो राखौँला । अहिले यो प्रस्ताव फिर्ता लिदिनुस् भनेकाले मैले मानेको हुँ ।’

गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमान सँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू धर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेश गरेको उनले उल्लेख गरे ।

हिन्दू राष्ट्रको पक्षमा धेरै सदस्य भएको तर बोल्न डराएको भन्दै आगामी दिनमा अभियानमा जोडिनेहरू बढ्दै जाने भण्डारीको दाबी छ । नेपालमा विभेद र विकृति मौलाएको भन्दै उनले जनतामा रहेको भ्रम चिर्न सनातन धर्ममा विभेद नरहेको कुरा जनतासामु राख्नुपर्ने बताए ।

उनले भने, ‘सरकारका कुनै पनि देश धर्मको महत्त्व बुझे हुन्छ । धर्मका नाममा फैलाइएका भ्रम र विकृतिहरूलाई चिर्दै जनतासामु जानुपर्छ । धर्ममा नियत छैन, सनातनमा विभेद हुँदैन भन्ने कुरालाई प्रष्ट पार्दै सनातन धर्मको महत्त्व बुझाउनुपर्ने देखिन्छ । र यो देशको विकाससँग सम्बन्धित भन्ने बुझाउन सक्नुपर्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button