आज प्रजातन्त्र दिवस मनाइँदै

पोखरा । नेपालमा आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहीत हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न दलका प्रमुख, प्रदेश प्रमुख लगायतले शुभकामना दिएका छन् ।

नेपालमा गणतन्त्र स्थापनापछि औपचारिकरुपले प्रजातन्त्र दिवस मनाउन छाडिएको थियो । तर जनताले यसप्रति असन्तुष्टि जनाउँदै गणतन्त्रको औचित्यमाथि प्रश्न उठाउन थालेपछि सरकारले यस पटकदेखि प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको थियो ।

यसैबीच गण्डकी प्रदेश प्रमुख गुरुङले नेपालको राजनीतिक इतिहासमा ७ फागुनको विशिष्ट महत्व रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस-२०८० को अवसरमा शुुभकामना सन्देश जारी गर्दै उनले ‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो’, उल्लेख गरेका छ ।

उनले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गरे ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा अमूल्य जीवन गुमाएका ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा भाग लिनेक्रममा बेपत्ता, घाइते एवं अंगभंग व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button