पोलिटिकल साइन्स सोसाइटी नेपालको दोस्रो वार्षिक साधारणसभा

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले जनताका चाहना अनुसारको प्रगति नदेखिएता पनि संघीयतापछि थुप्रै काम भएको दावी गरेका छन् ।

पोलिटिकल साइन्स सोसाइटी नेपालको दोस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री आलेले यस्तो दावी गरेका हुन् ।

उनले गाउँघरमा पूर्वाधार निर्माण तथा सञ्चार क्षेत्रमा ठूलो परिवर्तन संघीयता स्थापना पछि नै भएको स्पष्ट पारे ।

विकासलाई जनताको आयआर्जनसँग जोड्दै आर्थिक समृद्धितर्फ लैजानु अबको लक्ष्य भएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं सविधानसभा सदस्य कृष्णबहादुर गुरुङले नैतिकता बिनाको राजनीति, परिश्रम विनाको धन, मानवता बिनाको विज्ञान र आचरण बिनाको विद्धानको कुनै काम नहुने जिकिर गरे । संविधान जति नै राम्रो भएपनि नेतृत्वमा नै खोट भएपछि यसको कार्यान्वयनमा चुनौती थपिएको उनले स्पष्ट पारे ।

गण्डकी प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले राजनीति भित्रको शुद्घीकरणका लागि पनि सोसाइटीले भूमिका खेल्नु पर्ने बताए । अहिलेको राजनीतिक पार्टीले आफ्नो मिसन बिर्सिएर ससाना कुरामा अल्झेको उनले आरोप लगाए । असल संस्कारको राजनीतिलाई समाजसँग जोड्न आवश्यक रहेको नेपालीले बताए ।

अर्का प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले सोसाइटीलाई खोज र अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले राजनीतिमा लोकप्रियवाद हावी भएको बताउँदै यसले मुलुकलाई निकास नदिने दावी गरे ।

कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका सहप्रध्यापक डा. गिरीधारी दाहाल, पोलिटिकल साइन्स सोसाइटी बागलुङ अध्यक्ष डा. डिल्लीराज गौतम, वान केन्द्रीय उपाध्यक्ष दुर्गा अधिकारी लगायतले बोलेका थिए ।

सोसाइटी अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिलन आलेले, स्वागत उपाध्यक्ष दिलकुमारी पौडेल र उद्देश्यमाथि प्रकाश फरेन्द्र थापाले गरेका थिए ।

सभामा सोसाइटी सचिव अधिवक्ता शिवराज रेग्मीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सन्तबहादुर लामिछानेले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा आवद्ध सदस्यबीच आपसी भाइचारा बढाउने उद्देश्यले सभालाई रमाइलो वनभोजमा परिणत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button