|फाइल तस्बिर
पोखरा । पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ ।
साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको रु ७० लाखको लगानीमा निर्माण गरिएको उक्त पार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
पार्कमा संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित एक सय ९७ वटा झण्डा राखिएका छन् ।
प्रत्येक देशको झण्डामुनि सो देशले संयुक्त राष्ट्र सङ्घमा सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ ।
त्यसैगरी पार्कको बिचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ ।
पार्क उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले यसले पोखराको नयाँ पर्यटकीय गन्तव्य बढाउने बताए ।
विश्वका सबै देशका झण्डा एकै ठाउँमा राख्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उनको भनाइ थियो ।
महानगर प्रमुख आचार्यले भने, “पोखरामा संसारभरका पर्यटक आउँछन् । यहाँ आएर आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व महसुस हुन्छ । यसले पोखराको पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्नेछ ।”
झण्डा पार्क सामाजिक विषयका विद्यार्थीका लागिसमेत अध्ययन अवलोकनको गन्तव्य बन्न सक्ने भएको छ ।
महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयलाई एक दिन सो पार्कमा विद्यार्थीलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ ।
सेती नदीको दृश्यावलोकनसहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाइँ अवधि बढाउनसमेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ ।
लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउँदै यस महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको बताए ।
पोखरा आँफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको उनको भनाइ थियो ।
“यो पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसङ्घको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ”, अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले भने ।
महानगरपालिकाको वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटक बजार क्षेत्रमा रहेको महेन्द्रपुलमा पनि आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताए ।
महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँबायाँ रहेका पुराना भवन भत्काएर उक्त पार्कका साथै सार्वजनिक शौचालय पनि निर्माण गरको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution