पञ्चकोटमा ऐतिहासिक अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि

  • पोखरा न्यूज
  • २०८० फागुन ९
पञ्चकोटमा ऐतिहासिक अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि

पोखरा । बागलुङको धार्मिक एवं पर्यटकीय महत्व बोकेको पञ्चकोटमा आजदेखि ऐतिहासिक अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु हुँदैछ ।

महायज्ञ निरन्तर २२ गतेसम्म सञ्चालन हुनेछ । नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यस ब्रह्माण्डीय महायज्ञको तयारीलाई व्यापकता दिइएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए ।

महायज्ञ स्थलमा २५ फिट अग्लो धान्यमौलो निर्माण गरिएको छ । जसमा २१ हजार ५ सय ५५ संकल्पकर्ताहरुबाट प्रतिव्यक्ति १ क्वीण्टल धान अर्पण गरिनेछ ।

धान्याञ्चलको चारैतर्फ गोलाकारमा ९ वर्ष पुगेका नवकन्याहरुको उचाइ बराबरको ९ वटा मौलोहरु राखिनेछन्, जसलाई नवदुर्गाका प्रतीक मानिनेछ र त्यसमा आफ्ना घर गाउँमा उत्पादित खाद्यान्नहरु तिल, जौ धान, गहुँ आदिले पुरिनेछ ।

महायज्ञमा सयौं गुरुहरुबाट ४ बेद, १८ पुराण, रामायण, महाभारत, गीता, उपनिषद आदिको सामूहिक पाठ पारायण गर्ने कार्यक्रम छ ।

महायज्ञमा हरेक दिन फरक फरक कार्यक्रम सञ्चालन गरिने छ । आयोजकहरुले पत्रकार सम्मेलन गरी जनाएअनुसार ९ गते पहिलो दिन जल उर्जा विकास तथा वातावरण सम्मेलन हुनेछ भने १० गते राष्ट्रिय राजनीति एवं कर्मचारीसहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ ।

त्यस्तै ११ गते शिक्षा प्रणालीको कार्यान्वयनबारे परिचर्चा गरिनेछ भने १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयनसम्बन्धी अन्तरक्रिया गरिने भएको छ ।

यस्तै गरेर आत्मनिर्भरमुखी राष्ट्रिय कृषि, योग तथा खेल, पूर्वीमा चिकित्सा पद्धति र जनस्वास्थ्य, राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान लगायतका विषय राखिएको छ ।

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म पञ्चकोटमा ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । 

विसं २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नेबेला पञ्चकोटमा कुनै पनि संरचना नभएको तर अहिले धार्मिक पर्यटक निम्त्याउने आधारशिला तयार भएको उनी बताउँछन्‌। 

पछिल्लो समय धर्ममा आस्था राख्ने धेरै नागरिकले पञ्चकोट दर्शन गर्न आउने गरेको ऋषि प्रपन्नाचार्यले बताए । कलश निर्माणका लागि करिब ५० करोड लाग्ने अनुमान गरिएको छ ।

ऋषि प्रपन्नाचार्य भन्छन्, “पञ्चकोट पवित्र स्थान हो । यसको संरक्षण, प्रवर्द्धन गर्ने दायित्व पनि हामी सबैको हो । हामी सबैको सत्सङ्कल्पबाट यहाँ एउटा आधारशिला तयार भएको छ, यसलाई पूर्णता दिनका लागि बर्सेनि महायज्ञ लगाएर र दाताबाट रकम सङ्कलन गरेर काम गरिँदै आइएको छ । यसपालिको महायज्ञ अहिलेसम्मकै विशाल हो र यसले समग्र पञ्चकोट क्षेत्रको विकासका लागि हरेक नागरिकको मनलाई जोड्नेछ । साथै यसबाट धार्मिक पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्नेछ ।”

विसं २०७१ अगाडि पञ्चकोटमा भीर, पहारा थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना बनाउने योजना बनाउँदा कसैले पनि विश्वास गर्दैनथे । स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् र गण्डकी प्रदेशकै एक उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र बन्न सकेको छ । यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने पनि गरेका छन् । उक्त स्थानमा सिसमहल, गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका संरचना बनिसकेका छन् ।

बागलुङ नगरपालिका-६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा छ । सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने अधिकांश तीर्थालुमध्ये अधिकांश यहाँ आउने गरेको पाइन्छ । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक पनि सकेसम्म पञ्चकोट पुग्ने गरेको पाइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस