अवस्था र व्यवस्था बदल्न निर्णायक आन्दोलनमा राप्रपा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपा गण्डकी प्रदेश र कास्कीले ४० बुँदे माग समावेश मागपत्र बुझाएको छ ।

राप्रपा गण्डकी अध्यक्ष एवं प्रदेशसभा सदस्य पञ्चराम गुरूङ र जिल्ला अध्यक्ष नारायण गुरूङ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो ।

मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दू राज्य, प्रलोभनपूर्ण धर्मान्तरणमा रोक, प्रदेश संरचना खारेज गरेर संघ र अधिकार प्राप्त स्थानीय तहको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा बढी जनप्रतिनिधि र कर्मचारी कटौती, सरकारी कर्मचारी तथा पेसागत दलीय भातृ संगठनको खारेज, २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग छ ।

योसहित सहकारी-बचतकर्ताको बचत सुरक्षाको प्रत्याभूति र राहत प्याकेज घोषणा, वित्तीय संस्थाको ब्याज एकल अंकमा कायम गरिनुपर्ने, निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न, युवा विदेशिने बाध्यता अन्त्य गर्नुपर्ने, १ सय वर्षपछिको नेपाललाई हेरेर पूर्वाधार र सहरी योजना बनाउन पनि राप्रपाले प्रधानमन्त्रीसँग माग गरेको छ ।

युवा जनशक्ति पलायन र व्यवसायीमा बढेको निराशाप्रति चिन्ता व्यक्त गरिएको छ । मागपत्र बुझाउनुअघि राप्रपाले काठमाडौंमा जस्तै पोखरामा पनि प्रदर्शन गरेको छ । राप्रपाको टोलीले पृथ्वीचोकबाट सिर्जनाचोक, सिमलचौर हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यालयसम्म राष्ट्रवादी प्रदर्शन गरेको हो ।

राप्रपाले बुधबार काठमाडौंको भृकुटीमण्डपबाट निस्केर नगर पक्रिमासहित शक्ति प्रदर्शन गरेको थियो । त्यसपछि सिंहदबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको हो ।

४० बुँदे मागहरु हेर्न यो लिंक खोल्नुहोस्

RPP_Pokhara

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button