कास्कीको भगवतीटारमा दोस्रो आलु महोत्सव हुने

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १२ स्थित भगवतीटारमा दोस्रो आलु महोत्सव हुने भएको छ ।

‘भगवतीटार जाऔं, अर्ग्र्याानिक आलुका परिकारमा रमाऔं’ भन्ने नाराका साथ हराभरा भगवती कृषक समूहको आयोजनामा आगामी चैत ३ गते दोस्रो आलु महोत्सव हुन लागेको हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् ।

मादी गाउँपालिका वडा नं. १२ को प्रायोजनमा हुने महोत्सव सम्पन्न गर्न आयोजकले विभिन्न ५ वटा उपसमितिमार्फत तयारीलाई अगाडि बढाएको समुहकी अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

कृषि, पर्यटन र व्यवसायको प्रवर्द्धन गर्दै यस क्षेत्रमा हुने कृषि उत्पादनलाई बजारीकरण गर्ने मूख्य उद्देश्यका साथ आलु महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष कृष्ण दाहालले बताए ।

भगवतीटारको जग्गा आलुका साथै कृषि उत्पादनका लागि उर्वर भूमि भएको भन्दै सो क्षेत्रलाई मादी गाउँपालिकाको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको समूहका सचिव महेन्द्र पौडेलले बताए ।

भगवतीटारमा अर्ग्यानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघीय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफूल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए ।

महोत्वसमा ४ जातका आलुका साथै तरकारी तथा कृषि उपभोग्य सामानको खरिद विक्रीसमेत हुने आयोजकले बताएको छ ।

आलुका परिकार, खुला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षणका रुपमा रहने प्रचारप्रसार उपसमितिका संयोजक मिलन केसीले बताए ।

यसैगरी खूला भजन प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धिप्रसाद पौडले जानकारी दिए ।

महोत्सवमा पुराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button