
काठमाडौँ । दादुरा-रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो ।
पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।
यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।
आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानसमेत मन्त्रालयको आग्रह छ ।
दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।





