
पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटिडले आफ्ना सेयर सदस्यका लागि कफी खेतीबारे तालिम सञ्चालन गरेको छ ।
तालिम समापन कार्यक्रममा सोमबार पोखरा-१८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदीबहिनीले आफैं कफी बनाउन सक्षम भएको बताए ।
उनले कृषिबाट आर्थिक रुपान्तरणका लागि वडा लागिपरेको भन्दै अन्य आर्यआर्जनसँग सम्बन्धित तालिम पनि सञ्चालन गर्ने उल्लेख गरे ।
पोखरा-१८ पर्यटकीय वडा भएकाले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने खेती कफी भएकाले सराङकोटको कफीको ब्राण्ड बनाउनुपर्ने बताए ।
भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे ।
उनले सबैभन्दा धेरै कृषि कर्ममा लागिपर्ने भावना सहकारी भएको दाबी गरे । सराङकोटमा बाँदर लाग्ने र कफी बाँदरले नखाने हुँदा उपयुक्त हुने उनले दावी गरे ।
तालिम संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खड्काले तालिमबाट किसान स्वयं सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीको तर्फबाट अर्जुन थापाले तालिम उपयोगी भएको बताए । उनले तालिममा सिकेका सीप व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा दस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दीपक थापा, सहकारीका सचिव मीनबहादुर थापालगायतले बोलेका थिए ।
तालिममा सहभागी ४० जनालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।





