पोखरामा मनाइयो मगर एकता दिवस

पोखरा । ४२ औं मगर एकता दिवस पोखरामा मंगलबार विविध कार्यक्रम गरी मनाइएकाे छ । नेपाल मगर संघ कास्की आयोजनामा मानवअधिकार चोकबाट सुरु झाँकीसहितको र्‍याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा परिणत भयो ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा, भेषभूषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।

‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभूषाको संरक्षण आवश्यक छ’, उनले भने, ‘मगर भाषा अहिले पुस्तान्तरण हुन सकेको छैन ।’ उनले मगर समुदायको भाषा संरक्षणका लागि कुनै पनि प्रस्ताव लिएर महानगर आए सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

समाज समृद्धिका लागि भौतिक विकाससँगे समुदायको संरक्षण त्यति नै आवश्यक रहेको उनले बताए । ‘हामीले विकास भनेको ठूलाठूला भवन, बाटोलाई सम्झिन्छौं, विकास भनेको भौतिक पूर्वाधार मात्र होइन’, उनले भने, ‘विकास भनेको समाज समृद्ध हुनका लागि मान्छे जन्मिदादेखि मर्दासम्मका संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु पनि त्यो दिगो विकास हो ।’

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै सबै जातजातिले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषाको संरक्षण र प्रवद्र्धन गर्न समेत आवश्यक रहेको बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले समुदायको कला, संस्कृति, भेषभूषा पुस्तान्तरण नहुनु मुख्य समस्या भएको बताए ।

‘कुनै पनि समुदायको कला, संस्कृृति, भाषा, भेषभूषा लोप हुँदै गएको छ, यसको संरक्षणको दायित्व हामी सबैको हो’, घिमिरेले भने, ‘परिवर्तनसँगै इतिहासलाई बिर्सन हुँदैन, बढ्दो आधुनिकतासँगै कला, संस्कृति, भाषा, भेषभूषा पुस्तान्तरण हुन पर्छ ।’

झाँकी र्‍यालीमा नेपाल मगर संघ रामबजार इकाइ प्रथम भयो । चाउथे कमदमार्ग इकाइ समिति द्वितीय, माटेपानी इकाइ समिति तृतीय भए । अर्घौं, ढुंगेपाटन र सैनिक बस्ती इकाइ समिति सान्त्वना भए । उनीहरुलाई क्रमश: १०, ७ र ५ हजार तथा २ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामा, नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट, एमाले कास्की सचिव बैनबहादुर क्षेत्री, नेपाल मगर संघ कास्की अध्यक्ष रामबहादुर थापामगर, उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, सचिव लालबहादुर रानामगर, नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फूलकुमारी थापामगर र नेपाल मगर संघ गण्डकी उपाध्यक्ष पवित्रा थापामगर लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button