काठमाडौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष नछोड्न दबाब दिइएको छ । माओवादीका अधिकांश स्थायी समिति सदस्यहरुले यस्तो दबाब दिएका हुन् ।
उनीहरुले कांग्रेसको महासमितिले तय गरेको निर्णयलाई काउण्टर दिने उद्धेश्यले यस्तो भने पनि वास्तविकता भने अर्कै रहेको छ ।
खासगरी माओवादीको उच्च नेतृत्व नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर सम्पर्कमा रहेको पाइएको छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग माघको अन्तिम साता यता ३ पटक गोप्य भेटघाट गरिरहेको अवस्थामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने फागुन महिनामा ५ पटक भेटघाट गरेका छन् ।
उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार श्रेष्ठ आफैँ बालकोट पुगेर ओलीसँग भेटघाट गरेका थिए । ‘फागुन यता गृहमन्त्रीज्यू पाँच पटक बालकोट जानु भएको छ’, उच्च सुरक्षा स्रोतले भन्यो । तर उनले त्यहाँ गएर कुन-कुन सन्दर्भमा कुराकानी गरे भन्ने बारेमा बाहिर आउन सकेको छैन ।
नारायणकाजीको भेटबारे ओलीको सचिवालयमा रहेका केही व्यक्तिले चासो राखेको भए पनि ओलीले पनि केही बताएका छैनन् ।
नेकपा एमालेले संसदमा गृहमन्त्रीको राजीनामा माग्न थालेपछि उनी अत्तालिएर ओलीको शरणमा पुगेको स्रोतको दाबी छ ।
उपप्रधानमन्त्री श्रेष्ठले ओलीसँग वामगठबन्धनको सरकार बनाउनुपर्छ भनेर प्रस्ताव गरेको र त्यसका लागि आफूले पहल गरेको भन्नसमेत भ्याएका थिए । ‘नारायणकाजी आएर वामगठबन्धन गर्नुपर्छ भन्नुहुन्छ’, बालकोट निकट स्रोतले भन्यो ।
माओवादीका तल्लो तहका नेताहरुदेखि उच्चस्तरका नेताहरुसमेत एमालेलाई फकाउने नीतिमा लागेका छन् । प्रचण्डलेसमेत ओलीलाई ३ पटक गोप्य भेटघाट गरिसकेकाे हाम्राकुरा डटकमले समाचारमा उल्लेख गरेकाे छ ।
तर ओली-प्रचण्ड भेटघाटको विषयलाई भने एमाले र माओवादी दुवैले गोप्य राखेका छन् । टीआरसी विधेयकमा एमालेलाई मनाउने भन्दै बालुवाटार र सिंहदरबारमा औपचारिक भेटघाट गर्दै आएका छन् । माओवादीका नेताहरु वर्षमान पुन, रघुवीर महासेठ लगायतका दोस्रो तहका नेताहरुले पनि भेटघाटलाई बाक्लो बनाएका छन् ।
२०७९ पुस १० गते नेकपा माओवादीको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोर्स परिवर्तन गरेका प्रचण्डले आफ्नो अनुकूल नदेख्ने बित्तिकै फेरि एमालेसँग नजिक बन्ने कोसिस जारी राखेका छन् ।
तर एमालेले वर्तमान गठबन्धनको विषयमा सार्वजनिक धारणा नआउँदासम्म प्रचण्डको विश्वास गर्न नसकिने जनाउ दिइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution