पोखराका उद्योगी-व्यवसायीसँग कृषि विकास बैंकको छलफल

पोखरा । कृषि विकास बैंकले पोखरा र लेखनाथ उद्योग वाणिज्य संघसँगै उद्योग परिसंघलगायत संस्थासँग व्यवसाय प्रवर्द्धनका लागि छलफल गरेको छ । सो अवसरमा बैंकका प्रतिनिधिले बैंक जनताकै सेवामा प्रतिवद्ध रहेको जिकिर गरे भने सहभागीले बैंकहरुप्रति गुनासो गरे ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंकले उद्योग व्यावसाय गर्ने वातावरण सहज बनाउनुपर्नेमा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बैंक र व्यवसायीबिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए ।

कार्यक्रममा लेउवासंघका पूर्वअध्यक्ष बाबुराम गिरी, छत्रधर आत्रेय, उपाध्यक्ष विक्रम कर्माचार्य, पोउवासंघकी उपमहासचिव शोभा गौतम, होमस्टे व्यवसायी महासंघका अध्यक्ष प्रेमशंकर थारु, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ अधिकारी, कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्का, कस्मेटिक व्यवसायी समितिका कोषाध्यक्ष पुष्पा मरासिनी, निर्माण व्यवसायी प्रेम थापा, पर्यटन व्यवसायी गणेशबहादुर थापा, होटल व्यवसायी रमेश पौडेल, ध्रुवबहादुर भट्टराई, कृषि विज्ञ झलकलाल श्रेष्ठ, फर्निचर व्यवसायी थमनाथ अर्याललगायतले विज्ञासा र सुझाव राखेका थिए । उनीहरुले बैंक र व्यवसायीबिचको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अहिले अर्थतन्त्र अत्यन्तै मन्दीबाट गुज्रिरहेको र यसले उद्योगी, व्यवसायी पीडामा परेकाले बैंक पनि पीडामै रहेको बताए ।

बैंकले गरिबलाई धनी र धनीलाई अझ धनी बनाउने गरी काम गरिरहेको भन्दै उनले सम्बिन्धत निकायको नीति भन्दा एक इन्च पनि बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।

उनले बैंकले लगानी गरेकामध्ये ९८ प्रतिशत अत्यन्तै राम्रो सम्बन्ध रहेको र बाँकी २ प्रतिशत खराब कर्जामा पर्दा तिनीहरुसँग सम्बन्ध बिग्रिनु स्वभाविक भएको बताए ।

कर्जा विभाग प्रमुख चन्द्रसिंह थापाले बैंकले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत् व्यावसायीकरण गर्दै आएको बताए । ग्रामीण क्षेत्रको विकास तथा गरिबी न्यूनीकरणद्वारा मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने कार्यमा बैंकले सघाउँदै आएको उनले दावी गरे ।

कृषि क्षेत्रको अग्रणी र परिचित बैंकले कृषि क्षेत्रमा २५ प्रतिशत लगानी गरेको उनले बताए । उनले बैंकले साना किसानलाई नै प्राथमिकता दिँदै आएको दावी गरे ।

कृषि तथा ट्रेजरी विभाग प्रमुख सुदीप दाहालले सरकारको निर्देशनअनुसारका र ठूला कर्जा सेवाग्राहीसँग समन्वय गरेर कर्जा प्रवाह गरिरहेको बताए । बैंकले पछिल्लो समयमा प्रिमियममा ७५, सेवा शुल्कमा ५० र बिमामा ८० प्रतिशत छुट गरिएको उनले बताए ।

गण्डकी प्रदेश कार्यालय प्रमुख घनेन्द्र अधिकारीले आधुनिक प्रविधिमार्फत् बैंकसँग सेवाग्राहीलाई जोड्न डिजिटाइजेसनको अवधारणा अवलम्बन गरेको बताए । उनले पूर्ण प्रविधियुक्त भरपर्दो र सुरक्षित डिजिटल बैंकिङ प्लेटफर्ममार्फत् सेवा दिँदै आएको जानकारी दिए ।

सो अवसरमा बैंककी मार्केटिङ एण्ड सेल्स विभाग प्रमुख बिना शर्माले बैंकको वस्तुस्थितिबारे जानकारी गराइन् । शर्माका अनुसार बैंकको कुल पुँजी ३० अर्ब २५ करोड छ । जसमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत पब्लिक लगानी छ ।

बैंकले २ सय ८१ शाखाहरू र २२ एक्सटेन्सन काउन्टरहरूमार्फत् सेवा दिँदै आएको छ । ७७ वटै जिल्लाहरूबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आएको बैंकले ४९ भन्दा बढी कार्यालयमा लकर सेवा, १ सय २९ एटीएम, १६ वटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० वटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ वटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गरेको छ ।

बैंकका १८ लाख ग्राहक, १९ लाख बचत कर्ता, ३ लाख सेयर सदस्य, १ लाख ५० हजार कर्जा सेवाग्राही रहेको शर्माले जानकारी दिइन् । कर्जा लगानीमध्ये १ लाख ३२ हजार कृषि क्षेत्रमा गरिएको छ ।

उनकाअनुसार २ हजार ६ सय ७५ कर्मचारी रहेको बैंकमा ५ सय कृषि विकास जनशक्ति छन् । बैंक पूर्णरुपमा प्रविधियुक्त बन्नेक्रममा छ ।

अनलाइन लोन, फोन लोन, कार्ड बिना एटीएम सेवा सञ्चालनको तयारीमा बैंक छ । हाल ५७ वर्षमा चलिरहेको बैंक २०२४ सालमा स्थापना भएको हो । २०४१ मा नेपालमै पहलोपटक कम्प्युटराईज्ड प्रविधि भित्र्याएको बैंकले २०६२ मा ‘क’ वर्गको मान्यता पाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button