वाफ महिला च्याम्पियनसिपमा नेपाल पराजित

पोखरा । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् । त्यसपछि जोर्डनको लगातार २ प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् ।

जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो । त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १-० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् ।

अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् । त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो ।

जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो ।

जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो ।

जोर्डन प्यालेस्टाइनलाई ५-० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल १०५ औं स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button