नेपालले हरायो नामिबियालाई, फाइनल खेल्ने सम्भावना

पोखरा । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ ।

जितका लागि १ सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७७ रनमा समेटियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई ८ रन मात्रै दिए ।

योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै २ अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ ।

नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान २ अङ्क नै छ । नेदरल्यान्डसको २ खेलमा २ अंक छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रिनले अविजित २३ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान २÷२ विकेट लिए भने अभिनाश बोहोराले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ३७ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाएका हुन् । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफले आउट हुनुअघि २४ बलमा ४ चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै १ चौका र ३ छक्काको ससहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा ३ छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरी ८ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान पौडेल ९ बलमा २ चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख १ रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले ३ विकेट लिए भने ज्याक ब्रेसलले २ विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान १/१ विकेट लिए । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button