पोखरा-जोमसोम हवाई सेवा पुन: सञ्चालन

पाेखरा। जोमसोम-पोखरा हवाई सेवा करिब ३ महिनापछि सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो ।

गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले शुक्रबारदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताए ।

मङ्सिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम-पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

“मौसममा सुधार र पर्यटकीय याम सुरु भएकाले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो”, विमानस्थलका प्रमुख शाहले भने, “सुमित एयरलाइन्सले आज दुई उडान भरेको छ ।”

बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।

हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहल-पहल बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी-जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button