पोखरामा भजन चुट्का प्रतियोगिता, तनहुँको दाजुभाइ समूह प्रथम

लेखनाथ । पोखरामा आयोजित भजन चुट्का प्रतियोगितामा तनहुँको दाजुभाइ भजन समूह प्रथम भएको छ ।

महानगरपालिका वडा नं. २६ स्थित लोकसंस्कृति संरक्षण समिति र उज्ज्वल आमा समूहद्वारा सक्नेरीमा आयोजित प्रतियोगितामा सहभागी अन्य ७ समूहलाई पछि पार्दै दाजुभाई प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा धारापानी भजन समूह द्वितीय, वेगनास भजन समूह तृतीय भयो भने नमूना आमा समूह र भुलभुले भजन समुूहले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रथम हुनेले २५, द्वितीयले १५, तृतीयले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५, ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्यो ।
कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी र शिवहरि ढुङ्गाना रहेको निर्णायक समितिले विजेताहरुको छिनोफानो गरेको हो ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिए । उनले धर्म र संस्कृति जोगाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

लोक संस्कृति संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तारा शर्माले गरेकी थिइन् ।

महाशिवरात्रीको अवसरमा ‘धर्मको रक्षा गराैँ, संस्कृतिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ भजन चुट्का प्रतियोगिता आयोजना गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button