उपल्लो मुस्ताङमा भारी हिमपात, सर्वसाधारण घरबाहिर निस्कन सकेनन्

मुस्ताङ । आइतबार बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।

बेनी-जोमसोम-कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए ।

हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

घरभित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ ।

बिहानदेखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । चौँरी, च्याङ्गा, गाईलगायत घरपालुवा पशुलाई गोठमै राखिएको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम-कागबेनी-मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।

“स्याउको परागशेचनका लागि १ हजार ५ सय घण्टा ७ डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ”, उनले भने, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्त्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button