जलमुनिका महादेव जलेश्वरनाथ

महोत्तरी । गर्मी याम होस् वा चिसोको सिरेटो चल्ने याम होस्, चाहे हावाहुरी होस वा झमझम पानी परेको अवस्था होस्, वर्षभरि नै पानीमुनि बस्ने महादेवको नाउँ हो बाबा जलेश्वरनाथ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव बाह्रैमास जलमुनि बसिराख्ने हुनाले नै उहाँको नाम जलेश्वरनाथ रहेको हो भने उहाँकै नाउँमा यस नगरको नाउँ पनि जलेश्वर रहेको किम्बदन्ती छ ।

यस मन्दिरमा जलेश्वरनाथ महादेव साक्षात विराजमान रहेको साधुसन्तहरु बताउँछन् । बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा बस्दै आएका जोगी, सन्यासी, साधु, सन्त र महात्माहरु अहिले महाशिवरात्रीको महिना आउने बित्तिकै सम्पूर्ण जलेश्वर नगर शिवमय बनेको बताउछन् । शिवरात्रिको अवसर पारेर महादेव शिवशम्भु अहिले स्वयं यहाँको वातावरणमा विराजमान रहेको उनीहरुको भनाइ छ ।

जलेश्वरनाथ महादेव मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ रुद्रेन स्थापित स्वयम’ अर्थात जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गरेका हन् । जलेश्वरनाथ महादेवको स्थापना नेपालीहरुको आराध्यदेव भगवान देवादीदेव महादेवले स्वयं गर्नुभएको शिव महापुराणमा पनि उल्लेख छ ।

यो मन्दिर कहिले बनेको बारेमा कुनै प्रमाण छैन भन्ने स्वयं महादेवले नै निर्माण गर्नुभएको कुरा शिवमहापूराणमा उल्लेख छ । अनादीकालमा जलेश्वर घना जङ्गल रहेका बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती रहेको जलेश्वरनाथ महादेवका मूल पुजारी उपेन्द्र पाठक बताउछन् ।

जङ्गलमा बाघ, भालु, हात्ती जस्ता जङ्गली जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिनुभएको शिवमहापूराणमा उल्लेख रहेको जलेश्वर नगरपालिका-८ बस्ने पुजारी कालिकान्त झा बताउछन् ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भर्‍याङ) मुनि जमिनभित्र रहेको छ । यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३ सय ६५ दिन जलमै विराजमान रहनुहुन्छ । महाशिवरात्रिको महिनाभरि त बाबा जलेश्वरनाथ २४ सैं घण्टा जलेश्वरनाथ महादेव मन्दिरमै बिराजमान रहनु हुने जनविश्वास छ ।

मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ र सो जल विशेष पूजा अर्चना गरिने दिनमा मात्रै फ्याकिने हुँदा भक्तजनलाई बाबा जलेश्वरनाथको दर्शनका लागि विशेष दिनको प्रतिक्षा गर्नुपर्ने महाशिवरात्रि पूजा महोत्सवका पूर्वअध्यक्ष रमनकुमार चौधरीले बताउछन् ।

यस मन्दिरमा महाशिवरात्रि र साउनको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ । रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गरे ।

बाबा महादेवको चौतर्फी चर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथ जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुनेमा समाधि (मृत्युवरण) लिनुभएकाले उहाँको सानो मन्दिर पनि जलेश्वरनाथको मन्दिरको सामुने बनाइएको छ । भक्तजनले बाबा जलेश्वरनाथ महादेवको दर्शन र पूजाआजापछि जगदीशनाथको पनि पूजाअर्चना गर्दछन् ।

बाबा जलेश्वरनाथको गुफासहितको मन्दिर स्वयं उत्पत्तिपश्चात् इतिहासको समय र कालखण्डसँगै नेपालमा शाहवंशीय राज्य भएको बेला १८६७ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका-७) मा शिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाको लागि २ सय ७५ बिघा जग्गा र ४ वटा महापोखरी दान दिएको मन्दिरमा रहेको ताम्रपत्रमा उल्लेख छ ।

यसलाई मौजेको नाउँमा जनिन थालियो । मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायतका मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरीहरु पनि पाएका थिए ।

शिवपुराणमै उल्लेख भएअनुसार जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणी मात्रले मुक्ति पाउने गर्दछ । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौं मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कार समेत हुने गरेको थियो ।

यस महादेव मन्दिरमा पूजाआजाको लागि द्वन्द्व गिरी नाउँको पूजारी रहेको थियो । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए । समय बित्दै जाँदा १९९५ सालमा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल-ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे। यस महामन्दिर निर्माण गर्न त्यस बेला रु २५ हजार खर्च भएको थियो ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायतका वस्तुहरुको प्रयोग गरिएको थियो । यस महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पुजारी राजनारायण गिरी रहेको उल्लेख छ । बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पूजारी झा बताउछन् ।

जलेश्वरनाथको महिमा नेपालमा मात्र नभई भारतको पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायतका सहरमा पनि रहेको पाइन्छ । ती स्थानहरुबाट बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँमा दर्शनार्थी आउने गरेको अर्का पुजारी उपेन्द्र पाठक बताउछन् ।

पहिला महादेव मन्दिरसँग सयौँ बिघा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकोले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । समय बित्दै जाँदा पद्मशमशेरको पालामा उनले यस मन्दिरको अधिनमा रहेको जग्गाहरु आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका ४/५ दाजुभाइलाई दान दिएको चर्चा छ । पद्मशमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर बन्यो ।

विसं १९८३ को स्रेस्तामा सयौ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ । त्यसैगरी २००२ सालसम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख छ तर मन्दिरका सयौं बिघा जग्गाको मौजे विसं २००८ देखि हराएको छ । मन्दिरका ४ महापोखरीहरु अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिएको छ ।

मन्दिरकै दक्षिणपट्टी रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिएको मन्दिरका २ सय ७५ बिघा जग्गा र ४ महापोखरीको उल्लेख अझै पनि सुरक्षित रहेको छ । कुनैबेला ४ महापोखरी र २ सय ७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआजा र भोग (प्रसाद) का लागि पनि केही नरहेको पुजारी उपेन्द्र पाठकले बताउछन् ।

उनी भन्छन्, “कुनैबेला सयौँ बिघा जग्गा र ४ महापोखरीको मालिक रहनुभएका बाबा जलेश्वरनाथ आज साँच्चीकै भिखारी हुनुभएको छ । आज यस मन्दिरसँग केही पनि छैन ।’ भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद (भोग) पनि चल्ने गरेको छ ।

आजसम्म कुनै पनि दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पूजारी पाठक बताउछन् । उनले भने, ‘कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन । सबै बाबा महादेवको कृपाले चलेको छ ।’

विसं २०७२ को भूकम्पपछि टेकोको भरमा रहेको बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टीबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पाठक बताउछन् ।

मन्दिरको अवस्था अवलोकनका लागि विगत ७/८ वर्षमा पुरातत्व विभागबाट पनि ४/५ पटक विज्ञहरु आएर मन्दिरको अवस्था हेरेर गएको भएपनि बाबा मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारको लागि कतैबाट कुनै सहयोग नआएको पूजारीहरुले दुःखेसो छ ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार मूल मन्दिरको संरक्षणको लागि विशेष पहल र वृहत योजनाको आवश्यकता रहेको बताउछन् । जीर्ण तथा ढल्ने अवस्थामा पुगेको ऐतिहासिक बाबा जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मतसम्भार गरी संरक्षण, संबर्द्धन, व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न पहल गरिने उनको भनाइ छ ।

अर्को साता हुन लागेको महाशिवरात्रि पर्वको अवसर पारेर अहिले बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिँगारिँदै छ भने यस वर्ष बाबा जलेश्वरनाथ महालिङ्गको दर्शन करीब ३ लाख भक्तजनले गर्ने अनुमान रहेको महाशिवरात्रि पूजा महोत्सवका अध्यक्ष अमरदीप साहले बताए ।

उनले यस वर्ष महाशिवरात्रि पर्वको लागि मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बिजुलीबत्ती, फूलमाला र विशेष प्रकारको सजावट गरिने बताए । त्यस्तै महाशिवरात्रिका अवसरमा यस वर्ष जलेश्वरमा विशेष प्रवचन कार्यक्रम, विशेष शिव दर्शन तथा हेलिकप्टरबाट पुष्पवृष्टि गराउने योजनासमेत रहेको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button