पोखराका कृषकले पाए घाटा लागेको रकम

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगर प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गरेका हुन् ।

६० हजार ४ सय ४१ केजी च्याउ, २५ हजार ४ सय १७ केजी गोलभेँडा, ९ हजार ५ सय २० केजी सिमी र २ सय ९१ केजी कोदो गरी ९५ हजार ६ सय ६९ केजी कृषि उपजको रु.२६ लाख ७९ हजार ७ सय ६१ समर्थन मूल्य प्रदान गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

चिसापानी च्याउ फार्म पोखरा-२२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १ सय ६६ केजी च्याउको रु.४ लाख ८५ हजार ९ सय ४० प्राप्त गरेका छन् ।

भुर्जङ्खोला च्याउ फार्म पोखरा-१९ का सुष्मा सुनार गहतराजले ७ हजार ५ सय ६० केजी च्याउको रु.३ लाख ६२ हजार ९ सय २०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा-२६ का मुकुन्द खड्काले ९ हजार ७ सय १४ केजी च्याउको रु.३ लाख १७ हजार ४४, ग्रिनलाई मसरुम फार्म पोखरा-२४ का चोविन्द्र बहादुर कुँवरले रु.३ लाख १ हजार ७ सय ४० पाएका छन् ।

यस्तै, सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा-३३ का प्रताप सुवेदीले ९ हजार १ सय १३ केजी च्याउको रु.३ लाख ८ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा-११ का धुव्रबहादुर थापाले ५ हजार २ सय २५ केजी च्याउको रु.१ लाख ७४ हजार २ सय २६ रुपैयाँ प्राप्त गरे ।

यसैगरी भोर्लेटार च्याउ उद्योग पोखरा-३२ का मनोरञ्जन पौडेलले ६ हजार २ सय ३ केजी च्याउको रु.१ लाख ६८ हजार ७ सय ६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा-१४ की मीना अधिकारीले २ हजार ७ सय २४ केजी च्याउको रु.८३ हजार ४ सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा-१४ की हरिमाया अधिकारीले १ हजार २ सय ५६ केजी च्याउको रु.४९ हजार ६ सय समर्थन मूल्य प्राप्त गरे ।

यस्तै, एसके कँडेल कृषि फार्म पोखरा-२८ का सन्तोष कँडेलले ३ हजार ९ सय ५० केजी सिमीको रु.६९ हजार ९ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६ सय ७० केजी सिमीको रु.६२ हजार ८ सय ९०, रातिपोखरी कृषि फार्म पोखरा-२२ की अग्निमाया बरालले ८ सय २५ केजी सिमी र १ हजार ७ सय ५४ केजी गोलभेँडाको रु.३५ हजार ४ सय २१, नीलम कृषि फार्म पोखरा-१४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु.२३ हजार ४ सय ७५ रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी रोशन एन्ड रोहित कृषि फार्म पोखरा-१४ का रमेश खनालले २१ हजार ३ सय १४ केजी गोलभेँडाको रु.२ लाख १९ हजार ३ सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा-१४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २ सय ८२ केजी गोलभेँडाको रु.१५ हजार ५ सय २४ र हरियाली कृषि फार्म पोखरा-३३ का शुकदेव सुवेदीले २ सय ९१ केजी कोदोको रु.८ हजार ७ सय ३० बुझे ।

सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताए ।

“कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन्, प्रमुख आचार्यले भने, कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ, तपाँईहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।”

कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।

समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिए ।

यसले आफूहरूलाई प्रोत्साहन मिलेको उनीहरूको तर्क छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button